अपर तामाकोशीको नाफा १ अर्ब ६५ करोड, विद्युत बिक्रीबाटै ३ अर्ब ९४ करोड आम्दानी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको तुलनामा कम्पनीको नाफा केही घटेको हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको विद्युत् बिक्री आम्दानी २.२७ प्रतिशतले बढेको छ। आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा पनि ३.१८ प्रतिशतले बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ७१ करोड ४७ लाख रुपैयाँ थियो।
विद्युत् बिक्री आम्दानी र सञ्चालन नाफा बढे पनि कम्पनीको खुद नाफामा भने सामान्य गिरावट आएको छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजसहितको वित्तीय खर्च बढेका कारण नाफामा दबाब परेको हो। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड ५९ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा कायम भएको छ। अघिल्लो त्रैमासमा यस्तो आम्दानी ७ रुपैयाँ ९१ पैसा थियो। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा र तरलता अनुपात १.८४ रहेको छ। कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण ६६ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ६८ अर्ब ६१ करोड २३ लाख रुपैयाँ थियो।











