घलेम्दी हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद लम्बियो

१ पुष २०८०, आईतवार ०६:४८

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद लम्बिएको छ । कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । जस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

मंसिर ३० गते शनिबार साँझ ५ः०८ बजेसम्म कम्पनीको हकप्रद शेयरमा ४६ लाख १७ हजार ६३२ कित्ता शेयरका लागि आवेदन परेको छ । सो शेयरमा पर्याप्त आवेदन नपरेपछि निष्काशनको मिति लम्बिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*