पुँजी बजारमा हरियालीः लगानीकर्ता उत्साहित हुँदा १० अर्बको कारोबार, के अब उकालो यात्रा नै हो ?

५ फाल्गुन २०८१, सोमबार १५:०५

काठमाडौँ । पुँजी बजारमा दोहोरो अंकको वृद्धिसँगै रौनक आएको छ । लामो समयदेखि साइडवेजमा रहेको बजारमा हाल ब्याजदर न्यून विन्दुमा आएसँगै लगानीकर्ताको चासो बढेको हो । बैंकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरुको संख्या समेत बढ्दै गइरहेको छ । अर्थतन्त्र लयमा फर्कँदै गएकाले बजारमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ ।

मौद्रिक नीतिको फागुन समीक्षाप्रति लगानीकर्ताको चासो बढेको छ । समीक्षामा सेयर धितो कर्जाको जोखिमभार, व्यक्तिगत लगानीकर्ताको सीमा र बैंकहरुलाई अल्पकालीन लगानीको अनुमति जस्ता विषयमा स्पष्टता आएमा बजारले नयाँ उचाई लिन सक्ने विश्लेषकहरुको धारणा छ । साथै, नयाँ ब्रोकरहरुको आगमनले माग पक्ष सबल हुँदै जाने अपेक्षा गरिएको छ । बजारमा सुधार भए पनि कतिपय कम्पनीको मूल्य स्थिर रहेको छ । विशेषगरी ठूला कम्पनीहरुको भाउ नबढेकाले समग्र सूचकमा उल्लेख्य सुधार आएको छैन । बैंक तथा बिमा समूहका कम्पनीहरु चलायमान नभएसम्म नेप्से सूचकमा ठूलो उछाल नआउने विश्लेषण गरिएको छ ।

बैंक ब्याजदर न्यून विन्दुमा आइसकेको र अर्थतन्त्रका सूचकहरु क्रमशः सबल बन्दै गएका कारण सेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ । आम लगानीकर्ता गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीतिको समीक्षाप्रति उत्सुक रहेका छन् । फागुन १५ गतेभित्र समीक्षा आउने नियम भएकाले लगानीकर्तामा कौतुहलता बढेको छ ।

नयाँ ब्रोकरहरुको आगमनले माग पक्ष सबल बन्दै गएको र कम्पनीहरुको मूल्य सस्तो भएका कारण दीर्घकालमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरुको अनुमान छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८७ अकंले बढेर २७२७.९१ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १० उपसूचकमा हरियाली आएको छ । आज तीन उपसूचक भने राताम्य भएका छन् । आज फाइनान्स समूहको ०.८४ प्रतिशत, हाइड्रोपावर समूहको ०.१५ प्रतिशत र व्यापार समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार १६६ कम्पनीको शेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*