सिलगढीमा जेन-जीको बैठक सम्पन्न, आन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने रणनीति तय

धनगढी । असोज १९ गते सिलगढीस्थित होटल रिमझिममा जेन–जी समूहका प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ। हर्क बोहराको संयोजकत्वमा बसेको बैठकले हालसम्मको आन्दोलन, त्यसका उपलब्धी र आगामी रणनीतिलाई संस्थागत गर्न विभिन्न प्रस्तावहरूमा गहन छलफल गरेको हो ।
बैठकमा सहभागी सदस्यहरूले जेन–जीले उठाएका मागहरूलाई स्थायी रूपमै कार्यान्वयन गर्न संगठनात्मक संरचना बलियो बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। साथै, आन्दोलनका क्रममा देखिएका चुनौती र सुधारका पक्षमा पनि विस्तृत बहस गरिएको जनाएको छ।
बैठकले जेन–जी अभियानलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्लास्तरीय संयोजन समिति गठन गरेको छ। समितिले डोटी जिल्लामा संगठन विस्तार र अभियान सशक्तिकरणका लागि नेतृत्व चयन गरेको छ।
बैठकमा उपस्थित सदस्यहरूले स्थानीय युवाहरूको सक्रिय सहभागिता र आन्दोलनले ल्याएको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गरेका छन्। जेन–जी अभियानले आगामी दिनमा शान्तिपूर्ण तरिकाले सामाजिक, शैक्षिक र आर्थिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै जाने योजना बनाएको छ।













