भ्रष्टाचारी होइनन् आज मन्त्री बनेकी श्रद्धा श्रेष्ठ

काठमाडौँ । २०७१ सालको चर्चित भ्रष्टाचार काण्ड हुँदा नेपाल पर्यटन बोर्डमा कार्यरत थिइन् आज मन्त्री बनेकी श्रद्धा श्रेष्ठ । श्रेष्ठले मन्त्री पदको शपथ लिए लगत्तै नेपाल पर्यटन बोर्डको भ्रष्टचार काण्डसँग जोडेर समाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ । तर, बीमापोष्टले गरेको अध्ययनको क्रममा श्रेष्ठ भ्रष्टाचारी नभई उक्त काण्डको छानबिनमा सहयोग गर्न सरकारी साक्षि रहेको खुलेको छ ।
तत्कालिन लेखा समितिका सभापति जनार्दन शर्माले नेपाल पर्यटन बोर्डका तत्कालिन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको नेतृत्वमा एक अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियार अनुसन्धान आयोगलाई छानबिन गर्न लिखित रुपमा निर्देशन दियो । सो लगत्तै अख्तियारले छानबिन गर्दा ६९ करोड रुपैयाँ भ्रष्टाचारको प्रमाणसहित करिब दुई दर्जन अभियुक्तका विरुद्धमा विशेष अदालतमा मुद्धा दायर भयो ।
सो क्रममा अख्तियारले आफुलाई छानबिनमा सहयोग गर्ने, भ्रष्टाचारको फाइल लुकाउने सुवास निरौलाको समूह विरुद्धमा बोर्ड भित्रैका २९ जना कर्मचारीको सहयोग लिइ अनुसन्धान कार्य सम्पन्न गर्यो । ति २९ जना कर्मचारीहरुले अख्तियारलाई सहयोग मात्रै गरेनन् अदालत नै पुगेर भ्रष्टाचारीका विरुद्धमा बयान समेत दिए । सो सूचीमा आज मन्त्री बनेकी श्रद्धा श्रेष्ठ पनि एक थिइन् । अख्तियारले मन्त्री श्रद्धासहित २९ जना कर्मचारीलाई सरकारी साक्षिको रुपमा अदालतमा पेश गरी उनीहरुको विरुद्धमा कुनै पनि मुद्धा नचलाउने निर्णय समेत गरेको थियो ।
श्रेष्ठसहित यी २९ कर्मचारीलाई बनाएको थियो साक्षि
बोर्डका २९ कर्मचारीलाई उक्त भ्रष्टाचार काण्डमा हस्ताक्षर गर्न दबाव दिएको दाबी गर्दै अख्तियारले आफ्ना अनुसन्धान अधिकृतलाई सहयोग पुराएकाले सजायको हकमा पूर्ण छुट गर्न अनुरोध गर्दै उनीहरूलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको छ ।
उदय भट्टराई, नविन पोख्रेल, शरद प्रधान, प्रदीप पौडेल, गोविन्दराज ओली, उज्जला दली, मणिराज लामिछाने, सुनिल शर्मा, विमल शर्मा कँडेल, समिर बज्राचार्य, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, सूर्य थपलिया, सुमन घिमिरे, रोहिणी प्रसाद खनाल, दीपकराज जोशी, सुदन सुवेदी, सन्तोष विक्रम थापा, लेखनाथ भुसाल, प्रदीप बस्नेत अख्तियारले साक्षीको रूपमा राखेको थियो ।
साथै, अर्चना केसी, खड्कविक्रम शाह, खेमराज तिमल्सिना, जानकी प्रसाद उपाध्याय र मदनकुमार लामिछानेलाई साक्षिको रुपमा राखेको हो ।
यी हुन् भ्रष्टाचार काण्डमा मुछिएको ब्यक्ति
पर्यटन वोर्डका निमित्त कार्यकारी अधिकृत नन्दिनी लाहे थापा, वोर्डका वरिष्ठ निर्देशक आदित्य बराल, निर्देशक काशीराज भण्डारी, निमित्त निर्देशक ध्रुव राई, वरिष्ठ प्रवन्धक दिवाकर राणा तथा प्रवन्धकद्वय लक्ष्मण गौतम, लिलाबहादुर बानिया र पर्यटन व्यवसायी महेन्द्र खनाल पनि सो भ्रष्टाचार काण्डमा मुछिएका थिए ।
नेपाल पर्यटन वोर्डको भ्रष्टाचारमा संलग्न २३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरु विरुद्ध ६९ करोड रुपैयाँ विगोसहित मुद्दा दायर गरिएको थियो । एउटै टिकट नम्बरबाट फरक फरक मितिमा यात्रा गरेको झुटो विवरण पेश गरी भ्रष्टाचार गरेका थिए ।













