ग्राहकलाई जिउदै जल्न बाध्य पार्दै गरिमा विकास बैंक, सर्लाहीका बिनले गरे पेट्रोल छर्केर आत्मदाह प्रयास

२६ मंसिर २०८२, शुक्रबार १७:११

काठमाडौँ । ‘सबैमा पहुँच’ भन्ने आकर्षक नारा बोकेको गरिमा विकास बैंकको वास्तविकता भने यसको ठ्याक्कै उल्टो बन्न पुगेको छ । विकास बैंकको रूपमा विश्वास दिलाउँदै ग्राहकमैत्री सेवा दिने दाबी गर्ने गरिमा विकास बैंकले उल्टै आफ्नै ग्राहकलाई आर्थिक, मानसिक र सामाजिक संकटमा धकेलेको पीडितको गुनासोले छर्लङ्ग पारेको हो । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का कामका नथुनी मुखिया बिनलाई बैंकले गरेको व्यवहार कुनै सामान्य प्रशासनिक त्रुटि मात्रै नभई सुनियोजित ठगीजस्तै देखिने घटना बाहिरि सतहमा आएको छ ।

बैकले ठगेको भन्दै बिनले बुधबार प्रहरी कै अगाडी आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि उनको उद्दार गरिएको छ ।  बिनलाई बैंकले ५ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भन्दै सबै प्रक्रिया अघि बढाएको थियो । उनले बैंकमा आवश्यक पर्ने लालपुर्जा, सिफारिस, हस्ताक्षर, धितो मूल्यांकन तथा अन्य सम्पूर्ण कागजातहरू पेश गरिसकेका थिए । बैंकका कर्मचारीले जग्गा निरीक्षणदेखि कागजी प्रक्रिया पूरा गर्ने कामसम्म आफ्नो ढंगले अघि बढाएको थियो । उनले भनिएको समयसीमा अनुसार सम्पूर्ण कागजी प्रक्रिया पूरा गरे पनि बैंकले कर्जा उपलब्ध गराएन । प्रक्रिया पूरा भएर डेढ वर्ष बितिसक्दा पनि ऋण नदिएपछि आफू ठगिएको महसुस बिनलाई भयो ।

समस्या त्यतिमै सीमित रहेन । ऋण उपलब्ध गराइने आश्वासनका आधारमा बैंकले कागजातमा सही गराउँदै बिनले धितो राखेको करिब डेढ करोड रुपैयाँ बराबरको जग्गालाई उल्टै लिलामी प्रक्रियामा पु-याएको उनको आरोप छ । ऋण पाउने भन्ने भरमा उनले व्यवसाय विस्तारका योजना अघि बढाएको तर बैंकले अकस्मात कर्जा रोकेपछि व्यवसाय नै चौपट भएको बिन बताउँछन् । ऋण अस्वीकारको कुनै प्रस्ट कारण नबताई बैंकले धितोमा राखिएको जग्गालाई लिलामी प्रक्रियामा फसायो भन्दै उनले आफू योजनाबद्ध रूपमा ठगिएको महसुस गरे ।

बैंकले ५ करोड ऋण दिने भनेको थियो तर सबै कागजात बुझाएपनि अन्तिममा ऋण नदिई उल्टै डेढ करोड बराबरको धितो लिलामीमा अघि बढाइयोे । कर्जा नपाएपछि थालिएको आर्थिक संकट, व्यवसाय ध्वस्त हुनु र परिवार पालनपोषणमै गम्भीर समस्या देखिन थालेपछि बिन मानसिक रूपमा अत्यधिक तनावमा पुगे । समस्या समाधानका लागि उनले नेपाल राष्ट्र बैंकमा समेत गुहार मागे तर उजुरी दर्ता भएको महिनौँ बित्दा पनि सुनुवाइ नभएको र नियामक निकाय नै मौन बसेको आरोप उनको छ ।

उता, समस्याबाट थिचिएका बिन न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय सर्लाही पुगे । तर पीडादायी कथा सुनाउन पुगेका बिनमाथि उल्टै बैंकका कर्मचारीहरूले नै प्रहरीमा उजुरी दिएपछि परिस्थिति थप जटिल बन्दै गयो । आफूलाई अपराधीझैँ व्यवहार गरिएको तर वास्तविकता भने बैंकको ठगीका कारण आफू पीडित बनेको बिनको भनाइ छ ।

यही अत्यधिक तनावले बुधबार उनी आत्मदाहको प्रयास गर्नसम्म पुगे । जिल्ला प्रहरी कार्यालय परिसरमा उपस्थित बिनले शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजे पनि त्यहाँ उपस्थित प्रहरी र स्थानीयले बुझाउँदै रोकिदिएपछि ठूलो दुर्घटना हुनबाट जोगियो । घटनास्थलमै उनी आफू भोगिरहेको पीडा, अन्याय र ठगीका बारे उच्च स्वरमा गुनासो गरिरहेका थिए ।

यो घटनाले वित्तीय क्षेत्रप्रति आम नागरिकको विश्वासमा प्रश्न उठाएको छ । विकास बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पारदर्शी सेवा दिनुपर्ने, धितो व्यवस्थापन र कर्जाप्रक्रियामा कडाइपूर्वक कानुनी स्पष्टता अपनाउनुपर्ने प्रावधान भए पनि व्यवहारमा भने यी प्रावधान पालना नभएको स्पष्ट देखिन्छ । धितो कागजात संकलन गरेर वर्षौँसम्म कर्जा दिने आश्वासनमा झुक्याउने, कर्जा नदिई उल्टै धितो लिलामीमा लैजानेजस्ता कार्यहरू नियमनको कमजोर पक्षका रूपमा देखिँदै आएका छन् ।

स्थानीयवासीहरूका अनुसार गरिमा विकास बैंकले वर्षौँदेखि सो क्षेत्रमा यस्तो शैली कायम राख्दै आएको भन्ने आरोप पनि सतहमा उठ्न थालेको छ । कर्जा दिने नाममा लालच देखाइ स्थानीयको भरोसा जित्ने, कागजातहरू संकलन गर्ने तर ऋण नदिई उल्टै लिलामी प्रक्रिया अघि बढाउने कार्य निरन्तर दोहोरिएको स्थानीयको दाबी छ । यसरी बैंकको कर्जाप्रक्रियामा पारदर्शिता नभएपछि धेरै नागरिक वित्तीय संस्थाप्रति नै त्रासमा परेका छन् ।

‘ऋण दिएका हौ, लिलाम गरेकै छैन’

गरिमाका केन्द्रिय कार्यालयमा प्रमुख सूचना अधिकारी अनिल रेग्मी भने बिन आफ्नो ग्राहक भएको र उनलाई ऋण लिएको दाबी गर्छन् । उनले भने, ‘उहाँ हाम्रो ऋणी हो । उहाले कर्जा लिनु भएको थियो । नियमित बुझाउँदै समेत आएका थिए । तर, बीचमा उनको कर्जा भुक्तानी रोकिएको मात्रै छ ।’

रेग्मीले बैंकले जग्गा लिलाम गर्नेलाई कुनै पनि पत्रिकामा सूचना प्रकाशित नगरेको बताए । ‘धितो लिलाम गर्नेलाई पहिलो पत्रिकामा सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । तर, हामीले पत्रिकामा सूचना समेत निकालेका छैनौ । लिलाम गर्ने त कुरै भएन’ रेग्मीले भने ।

उनले लगाएको आरोपप्रति आफ्नो कुनै धारण नरहेको सूचना अधिकारी रेग्मीको तर्क छ । ‘अब उहाले के आरोप लगाउनु भयो । के गर्नु भयो त्यो हामीलाई थाहा भएन’ रेग्मीले भने, ‘तर बैंकबाट भएको यति हो । हामीले कुनै लिलाम गरेको पनि छैनौ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*