हरित वित्तीय व्यवस्थापनमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग साझेदारी गर्दै जलवायु प्रतिवद्धता सुदृढ

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना वित्तीय क्रियाकलापबाट उत्पन्न हुने हरितगृह ग्यास उत्सर्जनको मापन, मूल्यांकन र न्यूनिकरणका क्षेत्रमा साझेदारी मजबुत बनाउन पीसीएएफसँग सहकार्य गरेको छ। विश्वका ६०० भन्दा बढी वित्तीय संस्थाहरू संलग्न रहेको पीसीएएफले ऋण तथा लगानीमार्फत हुने जीएचजी उत्सर्जनको एकीकृत मूल्यांकन पद्धति विकास र कार्यान्वयनमा अग्रणी भूमिका खेल्दै आएको छ।
वैश्विक रूपमा मान्यता प्राप्त मापदण्डमार्फत वित्तीय क्षेत्रलाई जलवायु प्रभावसम्बन्धी स्पष्ट डाटा उत्पादन गर्न सक्षम बनाउने पीसीएएफले बैंक तथा वित्तीय संस्थाहरूलाई भरपर्दो र दीर्घकालीन जलवायु रणनीति निर्माणमा सघाउँछ। यही समझदारीका साथ माछापुच्छ्रे बैंकले पनि वातावरणीय उत्तरदायित्वलाई व्यवसायिक निर्णय प्रक्रियामा गहिरो रूपमा समावेश गर्ने प्रतिबद्धता जनाएको छ।
हरितगृह ग्यास बढ्दै गएपछि त्यसले भविष्यमा निम्त्याउन सक्ने जोखिमप्रति संवेदनशील बनेको बैंकले पीसीएएफमा सहभागितामार्फत आफ्नो सञ्चालन पद्धति तथा जलवायु–मैत्री दीर्घकालीन रणनीति अझ सुदृढ बनाउने लक्ष्य राखेको छ। यस कदमले वित्तीय गतिविधिबाट पर्न सक्ने वातावरणीय प्रभावको सूक्ष्म बुझाइ विकसित गर्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउन र नेपालको कम–कार्बन उत्सर्जन तथा जलवायु–लचकदार अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुग्ने बैंकको विश्वास छ।













