विद्यालयमा आईसीटी ल्याब स्थापनाको नाममा भ्रष्टाचार, प्रधानाध्यापक र लेखापाल विरुद्ध मुद्दा

२९ मंसिर २०८२, सोमबार १४:१३

काठमाडौं । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित श्री शंकर जनता माध्यमिक विद्यालयमा आईसीटी ल्याब स्थापनाको नाममा ८ लाख ६२ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष (आव) ०७६/७७ मा आईसीटी ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाले दिएको ६ लाख ५० हजार रुपैयाँले आईसीटी ल्याब सम्बन्धी सामग्रीहरू खरीद नै नगरी भ्रष्टाचार गरेको पाइएको छ।

विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरण कुमार कुशियैतले आपसी मिलेमतोमा नगरपालिकाबाट रकम भुक्तानी लिएको तर सामान नै खरीद नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।

उनीहरूले सामान नै खरीद नगरेको र त्यसलाई ढाकछोप गर्न सामान खरीद गरेको भन्दै विदेह नगरपालिकालाई नक्कली कोटेशन खडा गरी गलत र झुट्टा प्रतिवेदन पेश गरेको देखिएको छ। त्यसैगरी आव ०७८/७९ मा आईटीसी ल्याब व्यवस्थापनका लागि भनेर ८७ हजार ५०० को प्रोजेक्टर किनेको कागजी रूपमा देखिएको तर वास्तववमा भने सो प्रोजेक्टर नै नकिनेको पाइएको छ।

यसरी आईटीसी ल्याब स्थापनाको नाममा नगरपालिकाबाट बजेट लिएर कुनै सामग्री नै नकिनिकन विभिन्न सामग्री किनिएको भन्दै नक्कली र झुटो प्रतिवेदन बनाएर रकम भ्रष्टाचार गरेको भेटिएपछि अख्तियारले दुवैजना विरुद्ध ८ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो। तत्कालीन लेखापालको मृत्यु भइसकेकाले बिगो जफत गर्नका लागि अख्तियारले उनको श्रीमतीलाई प्रतिवादी बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*