जेनजी आन्दोलनले क्षतिग्रस्त चन्द्रागिरी हिल्सले लाभांश र हकप्रद प्रस्ताव सहित डाक्यो साधारणसभा

१ पुष २०८२, मंगलवार ०७:५१

काठमाडौं । भदौ २५ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा परी पूर्ण रूपमा क्षतिग्रस्त भई मंसिर १५ गतेदेखि मर्मत सम्भार पश्चात् पुनः सञ्चालनमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश प्रस्ताव सहित साधारणसभा बोलाएको छ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले यही पुस २३ गते बुधबार काठमाडौंको थानकोटस्थित कम्पनीको आफ्नै बटम स्टेशन परिसरमा बिहान ११ बजे १६औं वार्षिक साधारणसभा बोलाएको हो।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा अनुमोदन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*