लक्ष्यभन्दा पछि परेको राजस्व, मंसिरसम्म ४ खर्ब ९ अर्ब मात्र सङ्कलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा कमजोर देखिएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजस्व लक्ष्य राखिएकोमा मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य थियो। तर मंसिर २९ गतेसम्म जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ जसले लक्ष्यको ७८.७४ प्रतिशत प्राप्ति भएको देखिएको हो ।
मंसिर महिनाका लागि मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सो अवधिमा ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको छ। यो लक्ष्यको ८४.३१ प्रतिशत हो। मंसिर २९ गते एकै दिनमा ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ सँग तुलना गर्दा पनि चालु वर्षको राजस्व सङ्कलन दबाबमा देखिन्छ। गत आर्थिक वर्षका लागि १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँको वार्षिक लक्ष्य राखिएको थियो भने मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो।
त्यतिबेला मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। साथै, २०८१/८२ को मंसिर महिनामा मात्रै ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो, जुन चालु आर्थिक वर्षको सोही महिनाको सङ्कलनसँग तुलना गर्दा केही कम भए पनि समग्र लक्ष्य प्राप्तिको अवस्थामा दबाब कायमै रहेको देखिन्छ।













