कोरिया पठाइदिने प्रलोभनमा लाखौं ठगी, टोखाबाट ४३ वर्षीय व्यक्ति पक्राउ
१ पुष २०८२, मंगलवार १२:२०

काठमाडौं । वैदेशिक रोजगारीको नाममा कोरिया पठाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार गोरखा जिल्लाको भीमसेननाथ गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ वर्षीय खडानन्द लामिछाने पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सोमबार राति नियन्त्रणमा लिएको हो।
आकर्षक तलबको प्रलोभन देखाएर कोरिया पठाइदिने आश्वासन दिँदै लामिछानेले पीडितबाट तीन लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको भन्ने उजुरी परेपछि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लामिछानेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।












