पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण: तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

१ पुष २०८२, मंगलवार १६:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनाकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा गत साता ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको अख्तियारले मंगलबार थप एक जना नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी मुनाकर्मीविरुद्ध साढे २ करोड रुपैयाँभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारले विशेष अदालतमा दर्ता गराएको मुद्दामा मुनाकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ विगो माग दाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख पदमा कार्यरत रहँदा मुनाकर्मीले पदीय मर्यादा विपरीत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार मुनाकर्मीले २०५४ फागुन १ गते सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०८० मंसिर १४ गतेसम्ममा सम्पूर्ण वैध स्रोतबाट ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ आम्दानी गरेका छन्। तर सो अवधिमा उनको कुल खर्च ६ करोड २४ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको देखिएको छ। आम्दानीभन्दा बढी खर्च भएको साढे २ करोड रुपैयाँभन्दा बढीको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

निज राष्ट्रसेवक प्रतिवादी मुनाकर्मीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको तथ्य उनका सम्पत्ति विवरणसँग मेल नखाने भन्दै अख्तियारले अधिकारको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*