सदस्य र स्थानीयको आर्थिक क्षमता वृद्धि गर्दै स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

१ पुष २०८२, मंगलवार १८:३१

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कमलविनायक शाखाले मंसिर २९ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाका सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरूलाई वित्तीय कारोबार, बचत र उद्यमशीलता सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षतामा केन्द्र नं. ४३ की केन्द्र प्रमुख चम्पा आलेमगर रहेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य रबिन कुमार श्रेष्ठ र प्रा.डा. कुशुम शाक्य विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। साथै भक्तपुर नगरपालिका–१० का वडा सदस्य कृष्ण नारायण डुमरु र हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण फोजु पनि कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको क्रममा कमलविनायक शाखा अन्तर्गत उत्कृष्ट केन्द्रहरूलाई सम्मान गरिएको थियो भने बीमा सुविधा पनि प्रदान गरिएको थियो। शाखा कार्यालय प्रमुख सुनिता काफ्लेले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे जानकारी गराइन्।

इलाका कार्यालय ठिमीका प्रबन्धक राजेन्द्र थापाले वित्तीय साक्षरताले सदस्यहरूको आर्थिक जीवनमा ल्याउने सकारात्मक प्रभावबारे प्रकाश पारे। हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापकले संस्थाले सामाजिक कार्यमा योगदान गर्दै आएकोमा धन्यवाद व्यक्त गरे।

प्रा.डा. शाक्यले नगद विहीन आर्थिक कारोबार बढ्दै गएकोले त्यसको सुरक्षित उपयोगमा ध्यान दिनुपर्ने र महिला सहभागिताको महत्व रहेको बताए। सञ्चालक रबिन कुमार श्रेष्ठले उद्यमशीलता विकास आजको आवश्यकता भएकाले यसमा संस्थाले सक्रिय सहकार्य गर्ने बताए।

संस्थाका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, सेवा सुविधा र हालको अवस्था सम्बन्धमा जानकारी दिए। सहभागीहरूलाई बचत, ऋणको सही प्रयोग, पारिवारिक बजेट र वित्तीय अनुशासनबारे प्रशिक्षण पनि प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन कमलविनायक शाखाका विवेक कुवरले गर्नु भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*