सुस्त पुँजी बजारः निरन्तर तीन दिनको झिनो सुधार पनि छैन उत्साह, किन मार्केट अनिश्चित ?

२ पुष २०८२, बुधबार १५:०४

काठमाडौँ । केहि दिन यता निरन्तर खुम्चिएको शेयर बजार पछिल्ला तीन कारोबारको दिन सुधारको संकेत देखाएको छ । बजार विगत केही समयदेखि सामान्य सुधार तर्फ लम्कि रहेको छ भने लगानीकर्ताहरूले सकारात्मक यात्रा तर्फ फर्कने आशामा रहेका छन् ।

लगानीकर्ताको मनोबल बजारको हल्का उछालसँगै विस्तारै बढिरहेको छ। यद्यपि, शेयर मूल्य उत्साहित रुपमा वृद्धि हुन सकेको छैन र अधिकांश कम्पनीका शेयर मूल्य करिब स्थिर अवस्थामा रहेर उतार–चढाव देखाइरहेका छन् ।

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका केही पहल भए पनि ती प्रभावकारी हुन सकेका छैनन् । सरकारले स्थिरता र पारदर्शिता ल्याउने दाबी गरे पनि व्यवहारमा बजार अझै अस्थिर रहेको छ। नयाँ आईपीओ सूचीबद्ध हुँदा सर्किट लागे पनि कम्पनी मूल्य स्थिर रहँदा लगानीकर्तामा थप दबाब परेको छ ।

विश्लेषकहरूका अनुसार बजारको उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक नतिजा र खराब कर्जाको अनुपात बढ्नु मुख्य कारण बनेको छ । साथै, ठूलो लगानीकर्ता समूह र संगठित माफियाको भूमिका पनि बजार अस्थिरतामा संलग्न रहेको आशंका गरिएको छ ।

यद्यपि, अधिकांश नीतिहरू बजारको पक्षमा रहेका कारण र अर्थतन्त्रका सकारात्मक सूचकले गर्दा कतिपय लगानीकर्ताहरूको दृष्टिमा बजारले जुनसुकै समयमा गति लिन सक्ने सम्भावना रहेको छ। तर, निरन्तर गिरावटले हालसम्म लगानीकर्ताको विश्वास कमजोर भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अकंले बढेर २६२५.७० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १० उपसूचक हरियाली आएको छ भने ३ उपसूचक घटेको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*