एकैदिन ४ बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?

काठमाडौं । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ ।
बिहीबार अर्थात आज चार बीमा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् । आज नेशनल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको लाभांश प्रस्ताव गरेका छन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १३.१५७८९४७४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । साथै लाभांशमा लाग्ने करका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांशबाट समायोजन गर्ने निर्णय पनि गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो। यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज पुस ३ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।












