राताम्य पुँजी बजारः डुब्दै लगानीकर्ताको लगानी, सकारात्मक माहोलमा समेत किन निराशा ?

काठमाडौँ । तीन दिनको सीमित सुधारपछि शेयर बजार आज फेरि ओरालो लागेको छ । लगातार घट्दो बजारले सुधारको संकेत खोजिरहेका लगानीकर्तालाई पुनः निराश बनाएको छ । पछिल्लो समय बजार सुस्त बन्दै गएको देखिन्छ । आईपीओमार्फत भर्खरै सूचीकृत भएका केही कम्पनीका शेयरमा मात्र मूल्य सुधार देखिन थालेको छ भने अधिकांश पुराना कम्पनीका शेयर मूल्य लामो समयदेखि स्थिर अवस्थामा रहेका छन् ।
नेप्से सूचक हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि घुमिरहेकाले बजारले स्पष्ट दिशा लिन सकेको छैन । यसले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको छ । निरन्तर घट्दो र स्थिर अवस्थाको बजारले लगानीकर्तालाई न त सजिलै बजारबाट बाहिर निस्कन दिएको छ, न त नयाँ उत्साहका साथ कारोबारमा फर्कन नै प्रेरित गरेको छ। यस कारण बजारमा कारोबार रकम पनि अपेक्षाकृत कम हुँदै गएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका लागि केही पहलहरू भए पनि ती व्यवहारमा प्रभावकारी देखिन सकेका छैनन्। सरकारले बजारमा स्थिरता र पारदर्शिता ल्याउने दाबी गरे पनि वास्तविक कारोबारमा अस्थिरता कायमै छ। बजारको उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक वित्तीय विवरण, साथै खराब कर्जाको अनुपात बढ्नुजस्ता कारणले नकारात्मक प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ। केही विश्लेषकले बजारमा ठूला लगानीकर्ता समूह तथा संगठित माफियाको चलखेलले समेत अस्थिरता बढाएको आशंका व्यक्त गरेका छन्।
नीति निर्माण तह र नियामक निकायबाट समय–समयमा केही प्रयास भए पनि अपेक्षित सुधार नआउँदा लगानीकर्ताको विश्वास थप कमजोर बन्दै गएको छ। सामान्यतया लाभांश सिजन नजिकिँदा बजारमा सकारात्मक उछाल देखिने भए पनि यसपटक लगातारको गिरावटले त्यो अपेक्षा पूरा हुन सकेको छैन। बैंकको ब्याजदर घट्दो क्रममा रहे पनि त्यसले बजारमा नयाँ उत्साह ल्याउन पर्याप्त भूमिका खेल्न सकेको छैन।
यद्यपि, बजारमैत्री नीतिहरूको निरन्तरता, प्रणालीमा पर्याप्त तरलता र अर्थतन्त्रका केही सकारात्मक सूचकहरूका कारण बजार जुनसुकै समयमा गति लिन सक्ने सम्भावना भने कायमै रहेको कतिपय लगानीकर्ताको धारणा छ। उनीहरूका अनुसार विश्वासको संकट हट्न सके बजारले पुनः लय समात्न धेरै समय नलाग्न सक्छ, तर त्यसका लागि स्पष्ट नीति, स्थिर राजनीतिक वातावरण र नियामक तहको प्रभावकारी हस्तक्षेप आवश्यक देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७४ अकंले घटेर २६१२.९५ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड ११ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड २९ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
बिहिबार १० उपसूचक राताम्य भएका छन् । यसदिन ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको हो ।














