ज्योति विकास बैंकका कर्मचारीको व्यवहारका कारण डुबे अर्का व्यवसायी

४ पुष २०८२, शुक्रबार १३:२७

काठमाडौं । सप्तरीमा ज्योति विकास बैंकले समाजिक सञ्जाल मार्फत् ऋणीहरूको चरित्र हत्या गर्दा बैंकका कर्मचारीमाथि हातपात र कालोमोसो दलेको घटना सेलाउन नपाउँदै फेरि अर्काे कालो कर्तुत बाहिर आएको छ । ज्योति विकास बैंकको गैरजिम्मेवार व्यवहार र लापरबाहीले बाँके जिल्लाको कोहलपुर–६ का निर्माण व्यवसायी गौरव रावलको आफ्नो व्यवसायी थप संकटमा पर्नुका साथै चरित्र हत्या भएको भन्दै पत्रकार सम्मेलन गरेका हुन्।

बैंकले घर लिलामी सम्बन्धी विषय कानुनी प्रक्रिया र छलफलमै रहेको अवस्थामा बैंकसँग निकट व्यक्तिहरू वा स्रोतमार्फत भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेर व्यवसायीको व्यक्तिगत जीवनमा आँच आउने काम गरेको पाइएको हो । रावलले सन् २०१७ मा एक करोड १८ लाख रुपैयाँ ज्योति विकास बैंकबाट कर्जा लिएका थिए । नियमित रूपमा कर्जा तिर्दै आइरहेका रावल कोभिड १९ ले गर्दा मारमा परे । उनले भने, ‘नियमित किस्ता तिर्दै आइरहेको थिएँ तर बीचमा कोभिड १९ ले व्यवसायहरू ठप्प भए । मेरो व्यवसाय समेत धराशायी भयो । व्यवसाय ठप्प भएको र अब किस्तामा केही असर परेको गुनासो बोकेर बैंक सामु गएँ । कोरोनाकालमा लकडाउनले गर्दा व्यवसाय चल्न नसकेको भन्दै किस्ता तिर्ने केही समय माग गरें । तर बैंकले भने जसरी भएपनि कर्जा तिर्नु नै पर्ने कुरा राख्यो ।’

बैंकले कर्जा तिर्नका लागि व्यवसायमा प्रयोग गर्दै आइरहेको टिप्पर बेच्न लगाएको रावलको भनाई छ । बैंकको दबाबका कारण कर्जा तिर्न २५–३० लाख पर्ने २ टिप्पर आफूले ९–९ लाख रुपैयाँमा बेच्नु परेको उनको गुनासो छ । ‘बैंकले व्यवसायमा सञ्चालन गर्दै आइरहेको टिप्पर बेचेर भएपनि कर्जा तिर्नुहोस् भन्दै दबाब दियो । त्यसपछि कर्जा तिर्नका लागि मैले २ वटा टिप्पर कवाड सरह बेच्नु पर्यो । ९–९ लाखको दरले दुई टिप्पर बेचेर बैंकको नाममा रकम जम्मा गरें । जुन टिप्पर २५–३० लाखमा बिक्री हुने थियो । बैैंकले कर्जा तिर्ने दबाब दिएपछि सस्तोमा बेच्नु पर्ने अवस्था आयो’ रावलले भने ।

अर्थतन्त्र थप धराशायी हुँदै जाँदा व्यवसाय नै ठप्प भएको रावलले बताए । उनले भने, ‘टिप्पर बेचिसकेपछि पनि देशको अर्थतन्त्रमा केही सुधार आउला भन्ने आशामा पर्खिराखें तर अर्थतन्त्र थप धराशायी हुन पुग्यो । व्यवसाय थप डुब्दै गयो । तर व्यवसायीलाई राहत दिनुको सट्टा बैंकले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढायो । अहिले कालोसूचीमा राखेको छ । अब कालोसूचीमा राखेपछि मैले कसरी व्यवसाय सञ्चालन गर्ने ? अनि कसरी ऋण तिर्ने ? अहिले मात्रै ४ करोड १२ लाख ठेक्का छ । म कालोसूचीमा परीसकेको हुँदा अर्कोको फर्म हायर गरेर ल्याएर पनि काम गरिरहेको छु ।’

व्यवसाय सञ्चालन गरिरहेको तर केही समय माग गर्दा–गर्दै बैंकले समय नदिई धितो लिलाम गरेको उनले बताए । बैंकका कर्मचारीहरूको व्यवहारका कारण आफ्नो व्यवसायी जीवन नै संकटमा परेको उनको दाबी छ । ‘बैंकका आधिकारीक व्यक्तिहरुलाई आफ्नो फर्ममा ल्याएर देखाएको पनि छु । मैले बैंकलाई मलाई समय दिनु म ऋण तिर्छु जनताको पैसा मैले तिर्नै पर्छ भनिरहेको थिएँ तर बैंकले समय दिएन । धितो लिलाम गर्यो । लिलामपछि पनि बैंक रोकिएन बैंकले समाजिक सञ्जाल मार्फत् मेरो व्यक्तिगत जिवनमा आँच आउने काम गर्ने थाल्यो । मेरो व्यक्तिगत जीवनको नैतिकता नै समाप्त पारिदिने बाटोमा बैंक लाग्यो । यो बैंकको गैरजिम्मेवार कार्य हो । व्यवसाय गर्ने समेत अब सोच्नु पर्ने अवस्था बैंकले निकाल्यो । बैंकको कर्मचारीको कारण नै अहिले व्यवसाय समेत ठप्प छ’ उनले भने ।

बैंक भन्छ ‘जनताको रकमको सुरक्षा गर्ने हाम्रो दायित्व हो’

बैंकका सूचना अधिकारी प्रकाश बरालले भने राष्ट्र बैंकको परिधि भित्रै रहेर समाजिक सञ्जालमा धितोको सूचना प्रकाशित गरेको बताए । उनले भने, ‘उहाको सम्पत्ति गैरबैंकिङ सम्पत्तिमा परिसकेको थियो । पछि बिक्री गर्ने समयमा हामीले समाजिक सञ्जाल मार्फत समेत प्रचार प्रसार गरेका हौं । राष्ट्र बैंकको नियम अनुसार हामीले आफ्नो आधिकारीक टिकटकमा पोष्ट गरेका थियौं । हामी परिधिमा नै रहेर काम गरी रहेका छौं । तर, ऋणीलाई समाजिक सञ्जालमा हाल्दा केही असर परेको होला।’

जनताको रकमको सुरक्षा गर्नु बैंकको दायित्व रहेको बताउँदै बरालले ऋणीले मागे अनुसारको समय दिन नसकेको तर्क राखे । ‘जनताको पैसा सुरक्षित गर्नु हाम्रो दायित्व हो । अब उहाले समय माग गरिरहनु भएको थियो । हामी पनि निश्चित समयसम्म रोकिने हो । तर, लामो समयसम्म कर्जा उठेन भने हामी पनि प्रक्रियामा जानु पर्छ’ उनले भने ।

ऋणीले समय नदिएको गुनासो जायज भएपनि बैंक पनि आफ्नो परिधि भित्र बाधिएको हुँदा थप समय दिन नसकेको उनको भनाई थियो । बरालले भने, ‘अहिले त राष्ट्र बैंकले नै १८० दिनसम्म पर्ख र हेरको अवस्थामा बस्न भनेको छ । त्यसपछि मात्रै हामीले आवश्यक कदम र ३५ दिने सूचना प्रकाशित गर्नु पर्छ । लामो समय कुर्दा समेत कर्जा नउठेपछि धितो लिलाम गरेर भएपनि त्यो रकम उठाउनु पर्ने त हाम्रो दायित्व हो । हामीले त्यही गरेका हौं । अब ऋणीहरुको हिसाबमा पनि बैंकले समय दिएन भन्ने कुरा उहाँको दृष्टिकोणबाट एक प्रकारले ठिकै पनि हो । तर, हामी पनि परिधि भित्र बाधिएका छौं।’

यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*