अमेरिकाको ईडीभी कार्यक्रम बन्द

काठमाडौं। ट्रम्प प्रशासनले ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेर ग्रीनकार्ड पाएको भेटिएपछि ट्रम्प प्रशासन डीभी कार्यक्रमप्रति अनुदार देखिएको हो ।
केही दिनअघि ब्राउन विश्वविद्यालयमा भएको भएको अन्धाधुन्ध गोली प्रहारमा परी दुई जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । घटनामा संलग्न व्यक्ति डीभी परेर अमेरिका आएर ग्रीनकार्ड समेत पाएको भेटिएपछि ट्रम्प प्रशासनले बिहीबार डीभी ग्रीन कार्ड लट्री कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोइमले यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेसलाई तत्काल डीभी कार्यक्रम रोक्न निर्देशन दिइएको जानकारी गराइन् । वार्षिक ५० हजार आप्रवासी डीभी कार्यक्रममार्फत अमेरिका पुग्ने गरेका थिए ।
नोइमले एक्समा पोस्ट गर्दै ब्राउन विश्वविद्यायलमा भएको गोलीकाण्डमा ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ नेभ्स भ्यालेन्टी संलग्न रहेको जानकारी गराइन् । उनका अनुसार सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । त्यसको केही समयपछि उनले ग्रीनकार्ड पाएका थिए ।
अमेरिकाले हरेक वर्ष अक्टोबर(नोभेम्बरमा ई(डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन अनलाइनबाट लिने गर्थ्यो । जसका लाखौँ नेपालीले पनि अमेरिका जाने सपना राखेर उक्त कार्यक्रममा सहभागी हुन्थे ।
ट्रम्प प्रशासनको निर्णयसँगै यो कार्यक्रम रोकिन पुगेको छ । आप्रवासीप्रति कठोर देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कारण सन् २०२७ का लागि यो वर्ष खुल्नुपर्ने अनलाइन आवेदन खुलाएको छैन ।













