रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोकिने, सर्वोच्च अदालतले दियो यस्तो आदेश

४ पुष २०८२, शुक्रबार १५:४५

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक आईपीओ निष्काशन प्रक्रिया यथावत् रहने भएको छ । आईपीओ बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले मागअनुसार आदेश दिन अस्वीकार गरेसँगै कम्पनीको आईपीओ निष्काशनमा रहेको कानुनी अन्योल अन्त्य भएको हो ।

शुक्रबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया बदर गर्नुपर्ने आधार नरहेको ठहर गर्दै अन्तिम आदेश जारी गरेको छ । यससँगै कम्पनीले अघि बढाएको निष्काशन प्रक्रिया रोक्नुपर्ने अवस्था नरहने स्पष्ट भएको छ ।

नेपाल सेयर बजार लगानीकर्ता संघको तर्फबाट महासचिव खगेन्द्रराज कँडेलले मंसिर २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । तर, भोलिपल्ट सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले मुद्दा दरपिठ गर्ने आदेश दिएका थिए । उक्त दरपिठको आदेशविरुद्ध पुनः निवेदन परेपछि मंसिर २६ गते रिट दर्ता भएको थियो ।

कम्पनीको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । बुक बिल्डिङ निर्देशिकाअनुसार बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ कायम गरिएको थियो । सो मूल्यमा १० प्रतिशत छुट दिएपछि सर्वसाधारणका लागि प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*