राताम्य यात्रामा निराश लगानीकर्ताः अर्बौ लगानी बालुवामा पानी, अझै कति अस्थिर मार्केट ?

६ पुष २०८२, आईतवार १५:०७

काठमाडौँ । शेयर बजारमा लगातार गिरावट देखिँदा लगानीकर्ता थप निराश बन्दै गएका छन् । गत बिहीबारदेखि ओरालो लागेको बजारले आज पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो । बजार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको देखिन्छ । घट्दो बजारले नाफाको अपेक्षामा बसेका लगानीकर्तालाई दबाबमा पारेको छ भने नयाँ लगानी गर्न चाहनेहरू पनि ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् ।

आजको कारोबारमा विशेषगरी दीपेन्द्र अग्रवालसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्यमा तीव्र गिरावट आएको छ । अग्रवालमाथि शेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार गरेको र मूल्य प्रभावित कसुरमा कारबाही प्रक्रिया अघि बढेसँगै उनीसँग जोडिएका कम्पनीहरूमा लगानीकर्ताको विश्वास कमजोर बनेको छ । यसको प्रत्यक्ष असर ती कम्पनीहरूको शेयर मूल्यमा देखिएको छ ।
नेप्से सूचक हाल २५ सयदेखि २६ सय बिन्दुको वरिपरि सीमित रहँदै उतार–चढाव गरिरहेको छ। स्पष्ट दिशा लिन नसकेको बजार अवस्थाले लगानीकर्ताको आत्मविश्वास थप कमजोर बनाएको छ। निरन्तर घट्दो र कहिले स्थिरजस्तो देखिने बजारले लगानीकर्तालाई न त सहज रूपमा बजारबाट बाहिर निस्कन दिएको छ, न त नयाँ उत्साहका साथ कारोबारमा फर्किन नै प्रेरित गरेको छ। यही कारण कारोबार रकम पनि अपेक्षाकृत रूपमा कम हुँदै गएको छ ।

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका लागि विभिन्न पहलहरू गरिएको बताइए पनि ती प्रयासहरू व्यवहारमा प्रभावकारी रूपमा देखिन सकेका छैनन् । सरकारले बजारमा स्थिरता र पारदर्शिता ल्याउने दाबी गरे पनि वास्तविक कारोबारमा अस्थिरता कायमै छ । बजारको यो उतार–चढावमा राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका खबर, बैंक तथा वित्तीय संस्थाहरूका त्रैमासिक वित्तीय विवरण, साथै खराब कर्जाको अनुपात बढ्दै जानुजस्ता कारणले नकारात्मक प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।

केही विश्लेषकहरूले बजारमा ठूला लगानीकर्ता समूह तथा संगठित चलखेलको सम्भावनालाई पनि अस्थिरताको एउटा कारणका रूपमा हेरेका छन्। नियामक निकाय र नीति निर्माण तहबाट समय–समयमा सुधारका प्रयास घोषणा भए पनि अपेक्षित परिणाम नआउँदा लगानीकर्ताको विश्वास झन् खस्किँदै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दो क्रममा रहे पनि त्यसले शेयर बजारमा नयाँ उत्साह सिर्जना गर्न पर्याप्त भूमिका खेल्न सकेको छैन। लगानीकर्ताहरू अझै पनि स्पष्ट नीति, प्रभावकारी नियमन र स्थिर राजनीतिक वातावरणको पर्खाइमा छन्। जबसम्म बजारले स्पष्ट दिशा र विश्वासको आधार तयार गर्न सक्दैन, तबसम्म हालको निराशाजनक अवस्था सहजै सुधार हुने संकेत देखिँदैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अकंले घटेर २५९५.१० बिन्दुमा कायम भएको छ । ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको १.४२ प्रतिशत, फाइनान्स समूहको १.३८ प्रतिशत, होटल तथा पयर्टन समूहको १.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*