४१ हजारको आईपीओ भोलिदेखि आउँदै, शेयर भर्नेहरु डुब्ने खतरा!

६ पुष २०८२, आईतवार १७:१०

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले भोलि अर्थात् पुस ७ गतेदेखि सर्वसाधारणका लागि इतिहास कै सबैभन्दा महङ्गो आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। विभिन्न कानुनी बाधालाई हटाउँदै कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।

सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओमध्ये ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड भइसकेको, १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा प्रि अलोटमेन्ट भइसकेको र ५७ हजार ७९८ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागिएको हो।

सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन पुस ७ गतेदेखि ११ गतेसम्म मात्रै दिन सकिनेछ तर त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन अवधि लम्बिनेछ।

बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा (१४) बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिंदा प्रतिशेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको छ। अर्थात् लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि दिनु पर्ने भएकाले आईपीओ भर्न कम्तीमा पनि ४१ हजार ४० रुपैयाँ लाग्नेछ।

कम्पनीले सेबोनमा पेश गरेको वित्तीय विवरण अनुसार २०८१ चैत मसान्तसम्म कम्पनीको प्रति शेयर नेटवर्थ मात्र १७९.४५ रुपैयाँ छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको नेटवर्थको आधारमा अधिकतम तीन गुणा ओपनिङ रेंज तोक्ने प्रावधान राखेको छ। यस हिसाबले दोस्रो बजारमा रिलायन्सको पहिलो कारोबार प्रति कित्ता ५३८.३५ रुपैयाँमा हुन सक्ने अनुमान गरिएको छ जुन आईपीओ मूल्यभन्दा २८२.४५ रुपैयाँ कम हो। यसले लगानीकर्तालाई सुरुवाती बजार कारोबारमा नै घाटा हुन सक्ने संकेत दिन्छ।

रिलायन्सले संस्थागत लगानीकर्तालाई बेच्न तयार पारेको विवरण अनुसार २०७९/८० मा कम्पनीको प्रति शेयर आम्दानी ५४.३४ रुपैयाँ थियो। तर, आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा मात्र प्रति शेयर आम्दानी ०।९६ रुपैयाँमा झरेको देखिन्छ। असार २०८१ सम्ममा यो संख्या २.९५ रुपैयाँ पुगेको छ। यसरी आम्दानीमा आएको गिरावट र नाफा कम हुनु कम्पनीको वित्तीय स्थिरतामा प्रश्न उठाएको छ। २०७९/८० मा कम्पनीको खुद नाफा ९२ करोड ७८ लाख रुपैयाँ देखिएको थियो भने २०८१/२०८२ मा नाफा घटेर ४७ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा प्राधिकरणलाई तिर्नुपर्ने दायित्व रिलायन्सले स्वीकार गरेको थिएन तर अहिले यसलाई स्वीकार गरेपछि भविष्यमा नाफा अझ कम हुने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*