प्रभु बैंक प्रकरण: सीईओ शेरचनसहितलाई पाँच दिन म्याद थप

काठमाडौं । प्रभु बैंकसँग सम्बन्धित प्रकरणमा पक्राउ परेका बैंकका शीर्ष अधिकारीसहित पाँच जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उच्च अदालत पाटनले प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, सुजिन शाक्य तथा गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यविरुद्ध अनुसन्धान अवधि बढाउने आदेश दिएको हो । न्यायाधीश चन्द्रबहादुर सारु र न्यायाधीश गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासले म्याद थपको निर्णय गरेको अदालत स्रोतले जनाएको छ ।
इजलासले सो प्रकरणको अनुसन्धान ढिलाइ नगरी टुंग्याउन विशेष सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराउन निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।
उक्त घटनासँग सम्बन्धित आरोपमा शेरचनसहितका व्यक्ति मंसिर १४ गते आइतबार पक्राउ परेका थिए ।













