कैलाश हेलीकप्टरले बोलायो साधारण सभा, आईपिओ प्रस्ताव पारित गर्ने

काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभामा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गरिनेछ । साथै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ ।
यसैगरी, आर्थिक वर्ष २०८१/०८२ का लागि चुक्ता पुँजीको २० प्रतिशत बराबर हुने ६ करोड ३० लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृति दिने प्रस्ताव साधारणसभामा राखिनेछ ।
साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव छन् । साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।













