डोटी बडीकेदारको सामुदायिक वनमा तीन लाख भ्रष्टाचार, अध्यक्ष र सचिव सहित ३ जना विरुद्ध मुद्दा

८ पुष २०८२, मंगलवार १३:१८

काठमाडौं । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–२ मा रहेको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिमा तीन लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

अख्तियारका अनुसार समितिले वन क्षेत्रमा वृक्षारोपणका लागि ६७ हजार ५०० रुपैयाँ बराबरका बिरुवा खरिद गरेको दाबी गरे पनि त्यसको कुनै बिल, नर्सरी वा वास्तविक बिरुवा भने नरहेको र स्थलगत अनुगमन गर्दा वृक्षारोपण गरिएको भनिएको स्थानमा बिरुवा नै नभएको पाइएको छ।

त्यसैगरी समितिले सञ्चालन गरेको भनिएको ३ महिनाको सिलाई–कटाई तालिममा सहभागी ८ जनालाई प्रति व्यक्ति २९ हजार ३१२ रुपैयाँका दरले भुक्तानी गरिएको कागजात देखाइएकोमा सोही तालिमको एउटै भरपाई डिभिजन वन कार्यालय डोटी र समितिबाट फरक–फरक रूपमा प्रमाणित भएको पाइएपछि ती कागजात नक्कली भएको अख्तियारले जनाएको छ।

तालिममा सहभागी भनिएका केही व्यक्तिहरू त्यही समयमा करिब ९४ किलोमिटर टाढाको स्थानमा घोरेटो बाटो मर्मत कार्यमा काम गरेको डोर हाजिरी पनि तयार गरिएको फेला परेको छ। एकै व्यक्ति एकै समयमा ९४ किलोमिटरको दूरीमा तालिम र निर्माण कार्यमा संलग्न हुन नसक्ने भएकाले यो पनि झुट्टा कागजात बनाएर रकम हिनामिना गरिएको अख्तियारले निष्कर्ष निकालेको छ।

यसरी सञ्चालन नै नभएको तालिमको २ लाख ३४ हजार ४९६ रुपैयाँ र बिरुवा खरिदको नाममा ६७ हजार ५०० गरी कुल ३ लाख १ हजार ९९६ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो। अख्तियारले यस भ्रष्टाचारमा संलग्न भएको आरोपमा उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर पुन मगर, सचिव तारा देवी साउद र कोषाध्यक्ष दिल बहादुर साउदको विरुद्ध मुद्दा चलाएको हो।

kjUtR6

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*