महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणाली प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश राउत

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै आएको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अभियोजनमा सुधार भइरहेको भए पनि अझै वैज्ञानिक र व्यवस्थित ढंगले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताए।
प्रधानन्यायाधीश राउतले न्याय केवल आदेश र फैसलामा सीमित नभई यसको कार्यान्वयन महत्वपूर्ण भएको उल्लेख गर्दै न्यायमा सहज पहुँच कायम हुँदा अभियोजनमा सुधार आउने स्पष्ट पारे। उनले नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने वर्तमान प्रणालीलाई स्वभाविक रूपमा स्वीकार गरी अघि बढ्नुपर्ने जोड दिए। अनुसन्धान सुष्म, गहिरो र प्रभावकारी नभए न्याय ठिक ठाउँमा नपुगेको र सभ्य समाजमा निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्नेमा उनले जोड दिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रणालीले विधि र प्रक्रियाअनुसार अनुसन्धान गर्नुपर्ने तथा मात्र सफल हुन सक्ने बताए। उनले महान्यायाधिवक्ता कार्यालयको अभियोजन सुधार र व्यावसायिक सफलताको कामना पनि गरे।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले जनतालाई न्यायको केन्द्रविन्दुमा राखेर पीडितलाई न्याय दिने तरिकाले अभियोजन सुधार गर्नुपर्ने र संविधानले मुद्दा चलाउने वा नचलाउने जिम्मेवारी दिएको उल्लेख गरे। उनले जटिल परिस्थितिबाट न्यायालय अघि बढिरहेको र सुधारको चाहनालाई लिएर जेनजी पुस्ताको मागमा ध्यान दिनुपर्ने बताए। साथै, डिजिटल प्रविधिको प्रयोग र डिजिटल अपराध न्यूनीकरणमा केन्द्रित रहनुपर्नेमा जोड दिए।
महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि कार्यालयले फौजदारी न्याय प्रणालीमा निरन्तर सुधार गर्दै आएको र सरकारी वकिलको कार्यालयले बढी जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारी वकिलको अभियोजन प्रभावकारी रहेको जिज्ञासा राख्दै जिल्ला न्यायाधीशमा सरकारी वकिलले नाम निकाल्न सफल भएको र ५० प्रतिशतभन्दा बढी महिला भएको जानकारी दिए।
नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले गरिबले न्याय पाउन सक्ने गरी काम गर्नुपर्ने र फौजदारी अभियोजनमा सुधारमा सफलताको शुभकामना व्यक्त गरे। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विधिको शासन र अभियोजन प्रणाली प्रविधिमैत्री तरिकाले व्यवस्थित भइरहेको बताए।
नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले फौजदारी अभियोजन सुधारमा काम भइरहेको र गत भदौ २३–२४ गते कार्यालय क्षति भए पनि अहिले मर्मत गरी कार्य सञ्चालनमा आएको जानकारी दिए।
सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’ को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको छ भने १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनमा पुरस्कार तथा सम्मान गरिएको थियो। प्रधानन्यायाधीश राउतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। सहन्यायाधिवक्ता न्यौपानेले सम्मानले आफ्नो काम र कर्तव्यमा थप ऊर्जा र जिम्मेवारी थपेको अनुभव व्यक्त गरे। कार्यक्रममा प्रधानन्यायाधीश राउतले महान्यायाधिवक्ता कार्यालयले प्रकाशित स्थापना दिवस विशेषाङ्कको विमोचन पनि गरे।













