तरकारी बजारमा विषको खेल, रायोको सागमा भेटियो ९९ प्रतिशत विषादी

८ पुष २०८२, मंगलवार १६:४७

काठमाडौं । बजारमा बिक्री–वितरण भइरहेको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक विषादी फेला परेको हो ।

मंगलबार बिक्रीका लागि कालीमाटी तरकारी बजारमा ल्याइएको रायोको सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले सो दिन कालीमाटी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो । परीक्षणका क्रममा रायोको सागमा अत्यधिक विषादी भेटिएको हो ।

विषादीको मात्रा अत्यन्तै धेरै भएकाले उक्त रायोको साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको प्रयोगशालाले जनाएको छ । सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादी ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उपभोगयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म पाइएमा केही दिन राखेपछि मात्र उपभोग गर्न सकिने व्यवस्था छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिन्छन् ।

यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक विषादी भेटिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*