पूर्वाधारमा ठूलो लगानी: ११२ आयोजनाको ठेक्का आह्वान

९ पुष २०८२, बुधबार ११:४६

काठमाडौँ ।  खोटाङमा भौतिक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि ११२ वटा आयोजनाको ठेक्का आह्वान गरेको छ। कोशी प्रदेश सरकारबाट स्वीकृत ६६ करोड रुपैयाँ बराबरका १२३ आयोजनामध्ये अधिकांशको ठेक्का प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालका अनुसार ठेक्का आह्वान भएका आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रिया पनि सुरु भइसकेको छ। जग्गाको स्वामित्व स्पष्ट नभएको वा स्थानीय विवाद देखिएका केही आयोजनाको ठेक्का भने हाल बाँकी रहेको उनले बताए। ती समस्या समाधान भएपछि चाँडै ठेक्का आह्वान गरिने कार्यालयको भनाइ छ।

दश स्थानीय तह रहेको खोटाङमा प्रदेश सरकारबाट यस वर्ष एक अर्ब रुपैयाँभन्दा बढी लागतका १६४ आयोजना स्वीकृत भएका छन्। ती आयोजनामा सडक कालोपत्र तथा स्तरोन्नति, सडक विस्तार, मोटरेबल पक्की र झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत पूर्वाधारसम्बन्धी कार्यक्रम समावेश छन्।

प्रदेशबाट स्वीकृत आयोजनामध्ये २४ वटा बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्ने अवस्था रहेको छ भने १० वटा बहुवर्षीय आयोजना हाल निर्माणको चरणमै छन्। यसैबीच, केही आयोजनामा ठेक्का सम्झौता गरेर निर्माण कार्यसमेत सुरु भइसकेको कार्यालय प्रमुख दाहालले जानकारी दिए।

ठेक्का प्रक्रिया समयमै अघि बढेपछि निर्माण व्यवसायीहरू पनि उत्साहित देखिएका छन्। गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि ठेक्का आह्वान भएपछि निर्माण कम्पनीहरू सम्झौता प्रक्रियामा व्यस्त भएका छन्।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष हालसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट विनियोजन भएको दाबी गरिएको छ। कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य भूपेन्द्र राईले सम्हालेपछि करिब एक अर्ब रुपैयाँभन्दा बढीको १६४ वटा आयोजना एकैपटक स्वीकृत भएको हो।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री राईको पहलमा ठूलो मात्रामा बजेट आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धेरैले जिल्लामा आएको बजेट तथा आयोजना पारदर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सुझावसमेत दिएका छन्।

तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईले जिल्लाका सबै स्थानीय तह समेटिने गरी बजेट विनियोजन गरिएको उनको सचिवालयको दाबी छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको रातो किताबअनुसार जिल्लामा स्वीकृत आयोजनामध्ये रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि सबैभन्दा बढी १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*