बीमासहित इन्ड्राइभले सुरु गर्‍यो नयाँ सुरक्षा अभियान

९ पुष २०८२, बुधबार ११:११

काठमाडौं। राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममाझ कम्पनीकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरेकी हुन् ।

अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे विस्तृत जानकारी गराउँदै यात्रालाई थप सुरक्षित र विश्वसनीय बनाउनु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् ।

‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा भएका हरेक सुरक्षा सुविधाहरूलाई सरल तरिकाले यात्रुसम्म पुर्याउनेछ । तपाईंको रोजाइमा सुरक्षित यात्रा तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ ।’ उनले यो सकारात्मक सन्देश आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार इनड्राइभले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्व मानेको छ । इनड्राइभले अभियानमार्फत सुरक्षा सुविधाहरूको बारेमा जानकारी गराएको छ। जसमा यात्रुले आफूलाई लिन आउने विभिन्न राइडरहरूको प्रोफाइल, रेटिङ र उनीहरूले पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् ।

यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइलाई सजिलै सेयर गर्न सक्छन्, जसले गर्दा उनीहरू कहाँ पुगे भनेर ट्र्याक गर्न सकिन्छ । कुनै असुरक्षित महसुस भएमा एपबाटै सिधै प्रहरी वा आफ्नो आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिने सुविधा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*