केराबारी गाउँपालिकामा करदाता सेवा कार्यालयको काम हस्तान्तरण

९ पुष २०८२, बुधबार १३:००

काठमाडौँ। पुष ९ गते बुधबार मोरङको केराबारी गाउँपालिकामा करदाता सेवा कार्यालयको काम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका थिए। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले गरेका थिए।

कार्यक्रममा सचिव (राजस्व) भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल, आन्तरिक राजस्व कार्यालय बिराटनगरका प्रमुख कर अधिकृत केशव उप्रेती, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय उद्योगी व्यवसायी, करदाता र पत्रकारहरूको उपस्थिती थियो।

अर्थमन्त्री खनालले यो दिन प्रशासनिक संघीयताका दृष्टिले ऐतिहासिक भएको उल्लेख गर्दै वित्तीय संघीयता अघि बढेपनि प्रशासनिक संघीयता कमजोर रहेको अवस्थामा कर प्रशासनको काम विकेन्द्रित गर्नु आवश्यक रहेको बताए। उनले करदातालाई सहज सेवा, कर भुक्तानीमा समय र लागत घटाउने, विकृत व्यवहार कम गर्ने, स्थानीय सरकारको आय स्रोत बढाउने र सुशासन प्रवर्द्धन गर्ने दिशामा कार्यक्रम महत्वपूर्ण भएको बताए।

कार्यक्रमअन्तर्गत पहिलो व्यवसायिक स्थायी लेखा नम्बर ‘दि भ्वाइस क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत स्थायी लेखा नम्बर ‘श्री चित्रकुमार तमाङ्ग’लाई प्रदान गर्दै सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण गरिएको छ। अर्थमन्त्री खनालको उपस्थितिमा गाउँपालिका र आन्तरिक राजस्व कार्यालय बिराटनगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

हस्तान्तरणसँगै उद्योगी, व्यवसायी, करदाता तथा आयकर दाखिला गर्ने निकायहरूले आफ्नै नजिकको गाउँपालिका कार्यालयबाट करसम्बन्धी दर्ता र विवरण बुझाउन सक्ने व्यवस्था भएको छ। यसले करदाताको समय र लागत बचत हुने र सेवामुखी कर प्रशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*