निरन्तरको सुस्त गतिले हैरानीमा लगानीकर्ताः खुम्चिदै कारोबार, अझै महिनौसम्म स्थिर नै हुने!

काठमाडौँ । शेयर बजार सामान्य अकंले बढेको छ । निरन्तर घट्दो अवस्थामा रहेका बजारले पछिल्लो दुई कारोबारमा हल्का उकालो लिएको भए पनि अधिकांश लगानीकर्ताको मनोबल कमजोर छ । लगातारको घटबढले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तामा दबाब सिर्जना गरेको छ भने नयाँ लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् ।
नेप्से सूचक हाल २५००–२६०० बिन्दुको वरिपरि सीमित उतार–चढाव भइरहेको छ । स्पष्ट दिशा नदेखिँदा लगानीकर्ताको आत्मविश्वास कमजोर छ । लगातार घट्ने वा स्थिर जस्तो देखिने बजारको अवस्थाले कारोबार रकम अपेक्षाकृत कम बनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा पुँजी बजार सुधारका प्रयास भए पनि व्यवहारमा प्रभावकारिता सीमित देखिएको छ । राजनीतिक अस्थिरता, सम्भावित आन्दोलन, बैंक तथा वित्तीय संस्थाका त्रैमासिक वित्तीय विवरण र बढ्दो खराब कर्जा मुख्य अस्थिरताका कारण मानिएका छन् । ठूला लगानीकर्ता समूह र सम्भावित चलखेलले पनि बजारमा अनिश्चितता थपेको विश्लेषकहरूले बताएका छन् ।
ब्याजदर घट्दै गए पनि यसले शेयर बजारमा नयाँ उत्साह सिर्जना गर्न सकेको छैन । लगानीकर्ताहरू अझै स्पष्ट नीति, प्रभावकारी नियमन र स्थिर राजनीतिक वातावरणको पर्खाइमा छन् । जबसम्म बजारले स्पष्ट दिशा र विश्वासको आधार तयार गर्दैन, हालको निराशाजनक अवस्था सहजै सुधार हुने संकेत छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३७ अकंले बढेर २५८५.८७ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ७ उपसूचक राताम्य भएको छ भने ६ उपसूचकमा मात्रै केहि सामान्य सुधार देखिएको हो । आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको हो । ७ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।














