होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा होटल तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्ड लिमिटेडको सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
विगत १८ वर्ष देखि आफ्नो कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित यस होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् । यस होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा रहेको छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष होटलको रहेको छ ।













