१८ करोड बीमाको भुक्तानी अड्किँदा गौतमबुद्ध मुटु अस्पताल संकटमा, सेवा बन्दको चेतावनी

९ पुष २०८२, बुधबार १६:०५

काठमाडौँ ।  मुटु तथा मिर्गौला रोगको उपचार सेवा प्रदान गर्दै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारले पाउनुपर्ने करोडौँ रुपैयाँ भुक्तानी नपाउँदा सञ्चालन संकटमा परेको जनाएको छ।

अस्पतालका अध्यक्ष एजाज आलमले शुक्रबार पत्रकार सम्मेलनमा अस्पतालले यस आर्थिक वर्षमा मुटु तथा मिर्गौला रोगीको उपचार गरेबापत पाउनुपर्ने २० करोड ३९ लाख ३१ हजार ७९ रुपैयाँमध्ये अहिलेसम्म जम्मा २ करोड ५ लाख २२ हजार ५ सय रुपैयाँ मात्र प्राप्त भएको छ। बाँकी रकम नपाउँदा औषधि, उपकरण आपूर्ति, चिकित्सक तथा कर्मचारीको तलब भुक्तानीमा समस्या आएको उनले बताए।

उनका अनुसार सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत कहिले स्वास्थ्य विभाग र कहिले स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी हुने भएकाले संस्थागत समन्वयको अभाव देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमाबाट स्वास्थ्य विभागमा भुक्तानी जिम्मेवारी सर्नु हुँदा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयाँ अझै प्राप्त हुन सकेको छैन। चालु आर्थिक वर्षमा पुनः स्वास्थ्य विभागबाट बीमा बोर्डमा जिम्मेवारी सर्नु भएपछि समस्या दोहोरिएको पनि उनले बताए।

अस्पतालले ०८१ चैतदेखि ०८२ आसारसम्म प्रदान गरिएका सेवाको भुक्तानीमा ८५ लाख ४५ हजार रुपैयाँ कम प्राप्त भएको र दुवै निकायले एकअर्कामा जिम्मेवारी लगाउँदै गैरजिम्मेवार जवाफ दिएको आरोप पनि लगाएको छ।

असुविधा बढेसँगै अस्पतालले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत दिइँदै आएको निःशुल्क सेवा निरन्तर दिन कठिन बनेको भन्दै सरकारलाई समयमै भुक्तानी गर्न आग्रह गरेको छ। यदि पुस मसान्तसम्म रकम प्राप्त नभए माघ १ गतेदेखि मुटु उपचारका लागि दिइने १ लाख रुपैयाँ सहयोग तथा मिर्गौला बिरामीका लागि निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने चेतावनी अस्पतालले दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*