यातायात विभाग र ट्राफिक प्रहरीलाई नाइमाको सहयोग, सेवा पुनः सञ्चालनमा सहज

९ पुष २०८२, बुधबार १६:३२

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा क्षति पुगेका यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरेको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मङ्गलबार सो सहयोग हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै सोही सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताए । उनले संकटको समयमा सहयोग उपलब्ध गराएकोप्रति नाइमाप्रति आभार व्यक्त गरे ।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत सहयोग तथा यसका सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । उनले स्थापना भएको छोटो समयमै नाइमाले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारीको आधार तयार गर्न सफल भएको उल्लेख गर्दै ट्राफिक शिक्षा र व्यवस्थापनका क्षेत्रमा नाइमा एक भरपर्दो सहयात्रीका रूपमा स्थापित हुँदै गएको बताए ।

कार्यक्रममा नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायलाई सानो भए पनि सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताइन् । सार्वजनिक निकायसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण प्रस्तुत गर्दै यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल र ढोकाको पुनर्निर्माण गरिएको तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री उपलब्ध गराइएको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*