कोशीका साना उद्यमलाई कर्जामा सहजता, ग्लोबल आइएमई बैंक र डीएआई–उदयबीच सहकार्य

काठमाडौँ। ग्लोबल आइएमई बैंक र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् ।
समझदारीपश्चात कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ ।
यस सम्झौताअनुसार डीएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरूपमा कर्जा पाउनेछन् ।
नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डीएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।
डीएआई– उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतिको लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।













