यातायात कार्यालयमा विचौलियाको बिगबिगी, काठमाडौँ र भक्तपुरबाट १४ जना पक्राउ

१० पुष २०८२, बिहीबार १६:१५

काठमाडौँ । प्रहरीले यातायात कार्यालय काठमाडौँको गुर्जुधारा, भक्तपुरको राधेराधे तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्दै आएका १४ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोलका ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौँ–८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेश्वरी मनोहरा–५ की ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्ची–१० की ४१ वर्षीया दिपा कटुवाल, पर्वत जलजला–४ का ५० वर्षीय दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरी–५ गुर्जुधाराका २९ वर्षीय रञ्जित महर्जन, नवलपरासी बर्दघाट–११ का ३० वर्षीय अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा–६ का १९ वर्षीय दिवस लामा, सुनसरी इटहरी–१० का ३१ वर्षीय सरोज ढङ्गाना, काभ्रेपलाञ्चोक रोशी–१ का ३७ वर्षीय सन्तोष स्याङ्तान तथा काभ्रेपलाञ्चोक पनौती–५ का ४० वर्षीय दिलिप खड्गी रहेका छन् ।

यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुर, गुर्जुधारा काठमाडौँ तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गरी सेवाग्राहीलाई दुःख–हैरानी दिने र कार्यालयका कर्मचारीको दैनिक कामकारबाहीमा समेत प्रभाव पार्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले लिखित तथा ट्रायल परीक्षामा फेल भएकालाई कर्मचारीसँग चिनजान रहेको भन्दै पास गराइदिने प्रलोभन देखाई १० हजार रुपैयाँसम्म लिने गरेको, लाइसेन्स प्रिन्ट, ब्लुबुक तथा अन्य कागजात नवीकरण सहज तरिकाले गरिदिने भन्दै अतिरिक्त रकम असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, मेडिकल परीक्षणमा फेल भएकालाई समेत पास गराइदिने भन्दै अतिरिक्त रकम लिने तथा यातायात कार्यालयसँग सम्बन्धित काम छिटोछरितो गराइदिने भन्दै कर्मचारीसँग सेटिङ भएको दाबी गरी विचौलियाजन्य गतिविधि गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*