अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँ ।बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसरी संकलित निक्षेपको साँवा तथा ब्याज आगामी २५ पुषमा भुक्तानी गरिनेछ।
निक्षेप संकलन उपकरणअन्तर्गत हुने बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि निरन्तर रूपमा निक्षेप संकलन गर्दै आएको छ।













