कानुन पालना नगर्दा सुशासन कमजोर, ‘रुल अफ ल’ स्थापित गर्नुको विकल्प छैन: अर्थमन्त्री खनाल

१३ पुष २०८२, आईतवार ११:४४

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् ।नेपाल जन–प्रशासन संघको २६औँ वार्षिक साधारण सभा तथा २१औँ राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले ‘रुल अफ ल’ लागू गर्नुको विकल्प नभए पनि व्यवहारमा त्यसलाई स्थापित गर्न नसकिएको उल्लेख गरे ।

उनले कानुन परिपालनामा कोही पनि पूर्ण रूपमा कटिबद्ध नदेखिएको भन्दै अहिले नेपालले सबैभन्दा पहिले रुल अफ ल स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘कानुन पालना गर्ने कुरामा हामी सबै कमजोर छौँ । रुल अफ ल अत्यन्त महत्वपूर्ण विषय हो, यसको कुनै विकल्प छैन तर हामीले त्यसलाई व्यवहारमा उतार्न सकेका छैनौँ’ उनले भने ।

अर्थमन्त्री खनालले बोलेका सबै कुरा कार्यान्वयन गर्न सके मात्र अपेक्षित परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे । तर व्यवहार र अभिव्यक्तिबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै प्रणालीमै ‘वाक इन द टक’को समस्या रहेको बताए ।

उनका अनुसार नेपालमा सैद्धान्तिक कुरा भन्दा व्यवहारलाई बढी मान्यता दिइन्छ । ‘हामी जे बोल्छौँ, त्यही गर्न सक्दैनौँ । दायित्व नलिइकन कुरा गर्दा गर्न सकिन्छ जस्तो लाग्छ, तर जिम्मेवारी लिएपछि त्यही कुरा गर्न गाह्रो हुन्छ’ उनले भने ।

उनले गर्न सकिने कुरा मात्र बोल्ने र बोलेको कुरा सबै कार्यान्वयन गर्ने अभ्यास सुरु गर्न सके नयाँ पुस्ता अर्थात् जेन–जीले आशा गरेअनुसारको परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*