कालिञ्चोक दर्शनको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने

१५ पुष २०८२, मंगलवार ०६:२५

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज पुस १५ गते बस्दैछ। सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्ने र सोपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। तसर्थ मंसिर २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*