भ्रष्टाचार काण्डमा मुछिएका दीपक खड्काले अर्बौ रकम ऋण लिदै, कुन बैंकले पत्याउला ?

१४ पुष २०८२, सोमबार १३:५५

काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका विवादित नेता दीपक खड्काले बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिन लागेको पाइएको छ । झापाको धुलाबारीमा निर्माण भइरहेको पाँचतारे होटल ‘ईस्टर्न नेपाल’ परियोजनाका लागि खड्काले २ अर्ब २८ करोड ८० लाख रुपैयाँको दीर्घकालीन कर्जा प्राप्त गर्ने रेटिङ गराएको हो । विवादित छविका खड्कालाई कुन बैंकले कर्जा दिनेछ भन्ने प्रश्न उब्जिएको छ ।

खड्का विवादीत छवि भएका व्यक्ति हुन् । जेन जी आन्दोलनको क्रममा उनका घर जलेको थियो । त्यस घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फरेन्सिक रिपोर्टमा नेपाली र विदेशी मुद्राको अवशेष भेट्टाएको थियो । सो रिपोर्टका आधारमा खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भइरहेको छ ।

यता, दुरुपयोगका मामिलामा उनको नाम लगातार जोडिँदै आएको छ । नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री खड्काले सत्ता र राजनीतिक शक्तिको प्रयोग गरी तीन रोपनी जग्गा भाडामा लिएर १२ रोपनीमा भोगचलन गरिरहेको पाइएको थियो । विशेषगरी, नेपाल स्काउटको पूर्ण स्वामित्वमा रहेको काठमाडौँ–२६, लैनचौरस्थित तीन रोपनी जग्गा उनले १० वर्षको लागि भाडामा लिएका थिए । तर, राजनीतिक प्रभावको आडमा सम्झौता खारेज भइसकेपछि पनि खड्काले जग्गाको भोगाधिकार जारी राखेका थिए ।

यस क्षेत्रका संरचना भत्काइएको भए पनि खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले स्काउटलाई अझै ७ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी छ । यस घटनाले खड्काको कारोबारी र राजनीतिक छवि विवादित बनाएको छ ।

त्यसैगरी, डोल्पामा प्रस्तावित १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा कार्यालय र आवास निर्माणका लागि टेन्डर प्रक्रिया विवादित बनेको थियो । आयोजनाले प्राविधिक र आर्थिक प्रतिस्पर्धा नगरी मिलेमतोमा ठेक्का आव्हान गरेको आरोप छ । यसमा तत्कालिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग खड्काको सम्बन्ध रहेको बताइएको छ । हाइड्रो उद्योगीहरुसँग खड्का अर्बौं रकमको सेटिङ गर्ने कार्यमा संलग्न छन् ।

खड्कालाई अर्बौंको कर्जा उपलब्ध गराउने जोखिम बैंक तथा वित्तीय संस्थाका लागि अत्यन्तै उच्च छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको व्यक्तिलाई ऋण दिनु बैंकको प्रतिष्ठा र वित्तीय स्थायित्वलाई नै चुनौती दिन सक्ने देखिन्छ ।

होटल ईस्टर्न नेपाल परियोजना सन् २०१८ मा स्थापित कम्पनीद्वारा सुरु गरिएको हो । धुलाबारीस्थित पाँचतारे होटलमा ९८ वटा कोठा निर्माण हुँदैछन् । कम्पनीको स्वामित्व न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङले गरेको छ। बोर्डमा तीन जना सदस्य छन्, जसमा एक जना विनिता थापा पनि छिन् । विनिता थापा खड्काकी पत्नी हुन् ।

परियोजना १ लाख १० हजार ४४४ स्क्वरफिट क्षेत्रफलमा निर्माण भइरहेको छ। यसमा क्यासिना, बैंक्वेट हल, स्वीमिङ पुल, कन्फरेन्स हल, स्पा र अन्य सुविधा रहनेछ। परियोजनाको कुल अनुमानित लागत ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ रहेको छ। बैंक कर्जा र इक्विटीको अनुपात ७०ः३० रहेको बताइएको छ।

खड्काको विवादित चरित्र, राजनीतिक प्रभाव र सम्पत्ति शुद्धीकरण अनुसन्धानले उनलाई ऋण दिने बैंकका लागि ठुलो जोखिम उत्पन्न गर्न सक्छ । यस्तो अवस्थामा ऋण दिने बैंकका कर्मचारी, प्रबन्धक तथा सीईओ समेत निगरानीमा पर्ने सम्भावना हुन्छ । विवादित व्यक्तिलाई अर्बौंको ऋण दिने निर्णय बैंकको वित्तीय स्थायित्व र प्रतिष्ठामा प्रतिकूल असर पार्न सक्ने तथ्य हो । हालै बैंक तथा वित्तीय संस्थाहरूको सम्पत्तिको गुणस्तर कमजोर हुँदै गएको छ। यस समयमा खड्काजस्ता विवादित व्यक्तिलाई ऋण दिनु वित्तीय जोखिमको दृष्टिले अनावश्यक चुनौती हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*