एक दिन पनि टिकेन शेयर बजारको हरियालीः लगानीकर्ता बिक्री तिर हाबि, किन घट्यो मार्केट ?

१४ पुष २०८२, सोमबार १५:०७

काठमाडौँ। आइतबार हरियाली आएको शेयर बजारमा सोमबार पुनः ओरालो लागेको छ। राजनीतिक अस्थिरतामा परेको बजारमा हिजो मात्रै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ७ बुँदे समझदारी भएपछि सुधार आएको थियो। तर, सुधार आए पनि लगानीकर्ताहरु आज नाफा बुक गर्न बिक्रीमा सक्रिय भएका कारण बजार फेरि ओरालोमा आएको विश्लेषकहरुले बताएका छन्।

लगातार बजार ओरालो भइरहे पनि दुई प्रमुख अनुहारबीच भएको सहमतिले लगानीकर्ताको मनोबल केही बढाएको थियो। साथै, सरकार र विभिन्न दलबीच भइरहेको चुनाव सम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको छ। एमाले र कांग्रेस समेत चुनावको तयारीमा देखिँदा लगानीकर्तामा राजनीतिक स्थिरता आउने विश्वास जगिरहेको छ। यसले आगामी समयमा बजारलाई थप स्थिर बनाउने अपेक्षा राखिएको छ।

नियामक निकायका नीति अधिकांश सकारात्मक रहेको हुँदा राजनीतिक अस्थिरताले मात्रै बजारलाई प्रभावित पारिरहेको छ। हाल नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री नीति अपनाएको छ भने अर्थमन्त्रालय पनि बजारसम्बन्धी कदममा सकारात्मक रहेको देखिन्छ। राजनीतिक स्थिरता, नीतिगत सुधार र बैंकको ब्याजदर न्यून बिन्दुमा रहेकाले बजारले नयाँ यात्रा तय गर्ने विश्वास लगानीकर्तामा बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५३ अकंले घटेर २६२२.८८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक ओरालो लागेको छ भने दुई उपसूचकमा मात्रै हरियाली देखिएको छ । यसदिन ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*