गृहसचिवसहित सात सचिवको सरुवा
१४ पुष २०८२, सोमबार १५:३३

काठमाडौँ । सरकारले गृहसचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृहसचिवको जिम्मेवारी दिएको हो।
बैठकले लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेलाई नियुक्त गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।













