जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री लेखकले के दिए बयान ? (पूर्णपाठ)

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन्। सोमबार (पुस १४) सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भई उनले लिखित जवाफ बुझाएका हुन्।
बयानका क्रममा लेखकले भदौ २३ को घटनाका दिन आफूले गृहमन्त्रीको हैसियतले सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएको बताएका छन्। उनले कुनै पनि हालतमा मानवीय क्षति नहोस्, कसैको ज्यान जाने अवस्था नआओस् भन्ने विषयमा विशेष सावधानी अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्। साथै शान्ति सुरक्षाको उचित व्यवस्था समन्वयात्मक रूपमा मिलाउन र प्रदर्शन राजनीतिक समूहको नभएकाले नेतृत्वविहीन तथा घुसपैठ हुनसक्ने सम्भावनाप्रति सतर्क रहन भनेको उनको भनाइ छ। बैठकमा दिएको निर्देशनको सार यत्तिमात्रै भएको उनले बताएका छन्।
आयोगले लेखकलाई पुस ८ गते बयानका लागि पत्राचार गरेको थियो। यसअघि आयोगले उक्त समयमा पदमा बहाल रहेका सरोकारवाला सरकारी अधिकारीहरूसँग बयान लिइसकेको थियो भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखक मात्र बयानका लागि बाँकी थिए।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यस क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग गठन गरेको हो। ती दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो भने धेरैजना अझै घाइते अवस्थामा रहेका छन्।
Ramesh_lekhak-1767000566












