लाइसेन्स रिन्यू गर्दा समेत घुस खाने कार्यालय सहयोगी विरुद्ध मुद्दा दायर

काठमाडौं । यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आरोपित गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३० गते घुस लिएको एक लाख ८५ हजार नगदसहित पक्राउ परेका थिए । अख्तियारले उनको बैंक खाता लगायत घटनाको विवरण अनुसन्धान गरी प्रमाण संकलन गरी मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।
आरोपित गुरुङले पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग घुस लिएकोले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४०।– (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।













