ग्रेटर नेपालको एजेण्डा लिएर काठमाडौं–१ बाट चुनाव लड्ने फणिन्द्र नेपालको घोषणा

काठमाडौं । ग्रेटर नेपालको एजेण्डा लिएका फणिन्द्र नेपालले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । ३५ वर्षदेखि ग्रेटर नेपालको अभियानमा एक्लै हिडेका उनले पहिलो पटक स्वतन्त्र रुपले चुनाव लड्ने घोषणा गरेका हुन् ।
देशको सार्वभौमसत्ता निहित रहेको संसदमा ग्रेटर नेपालको आवाज उठाउँने उद्देश्यले चुनावमा हेमिएको उनले बताएका छन् । यस दौरान कैयौं पटक राज्यले उनको आवाज दवाउन खोजेको थियो । कैयौं पटक प्रहरीले पक्राउ गरी यातना दिदाँ समेत उनले ग्रेटर नेपालको अभियान छोडेनन् । बरु एक्लै हिडिरहे र हिडिरहेका छन् ।
चुनावि प्रतिस्पर्धाका हिसावले पनि काठमाडौं क्षेत्र नम्बर १ निकै महत्वपूर्ण ठाउँ हो । यस क्षेत्रबाट गत चुनावमा राष्ट्रिय प्रजातन्त्र पाटीका रबिन्द्र मिश्रलाई हराउँदै काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले चुनाव जितेका थिए ।
अभियन्ता नेपालले २०७५ सालमा स्वीटजरल्यान्डको जेनेभा पुगेर ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरेका थिए । त्यसबेला उनले त्यहाँ तीनवटा काम गरेका थिए । पहिलो, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर सम्वोधन गरेक थिए । उक्त सम्वोधनमा उनले सुगौली सन्धीमा नेपालबाट भारतमा गाभिएका ६० हजार किलोमिटर भूभाग फिर्ता हुनुपर्ने कुरा उठाएका थिए ।

तस्विर स्रोतः रातोपाटी डटकम
दोस्रो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुलाई ग्रेटर नेपालको नक्शा वितरण गर्दै यसको अवधारणा सुनाएका थिए । र, तेस्रो राष्ट्रसंघको मानवअधिकार परिषद भवनबाहिर ग्रेटर नेपालको नक्शा प्रदर्शन गरेका थिए
।
ग्रेटर नेपालको एजेन्डालाई एक्लो वृहस्पतीझैं वर्षौंदेखि एक्लै बोकेर हिँडिरहेका पात्र हुन् फणीन्द्र नेपाल । उनी पेशाले एक प्राध्यापक हुन् । उनि साढे दुई दशकभन्दा बढी समयदेखि एक सुरमा ग्रेटर नेपालको नारा अलापिरहेका छन् । उनको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ नामको संगठन छ।
तर, उनको अभियानमा न धेरै मान्छे छन्, न कुनै बलियो ब्याकफोर्स । ठूलो संगठन र आर्थिक स्रोतको अभावमा उनले यो अभियानलाई जनस्तरमा पुर्याउन सकिरहेका छैनन् । राजनीतिक नेतृत्वको साथ नपाउनु त छँदैछ, मिडियाले पनि भाउ नदिँदा उनको स्वर बाक्लो सुनिएको छैन ।
यो यात्रामा फणीन्द्र जहाँको त्यहीँ नै छन् । उनको अभियानले ठूलो रुप लिन सकेको छैन । भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा कालोझण्डा देखाएर पनि कैयौ पटक पक्राउ परिसकेका छन् । विभिन्न बाधा अड्चनलाई झेल्दै उनले आगामी चुनावदेखि खुल्ला राजनीतिमा होमिदै निर्वाचनमा सहभागी हुने घोषणा गरेका छन् ।













