नेपालमा मिति गुज्रेको ‘कवाडी चामल’ आयात, उपभोक्ता मञ्चद्वारा सरकारसँग कडा कारबाहीको माग

१४ पुष २०८२, सोमबार १८:१९

काठमाडौं। नेपालका केही ठूला व्यवसायीहरूले भारतबाट मिति गुज्रेको र अस्वस्थकर कवाडी चामल आयात गरी नेपाली बजारमा विभिन्न ब्रान्डको नाममा बिक्रीवितरण गरिरहेको भन्दै उपभोक्ता मञ्चले कारबाहीको माग गरेको छ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराउँदै यस्तो चामल आयात र बिक्रीबितरणको विषयमा ध्यानाकर्षण गराएको जानकारी दिएका छन्। उनले भने, ‘हामीलाई केही नामुद धानचामल व्यापारीले नेपालबाट पोषणयुक्त धान भारतमा निर्यात गरी भारतबाट अस्वस्थ एवं म्याद गुज्रेका कवाडी चामल आयात गरेको सूचना प्राप्त भएको थियो। ती व्यापारीहरूले भारतीय खाद्य निगमबाट कवाडी चामल खरिद गरी विभिन्न सीमा मार्गबाट नेपाल भित्र्याउने वा तस्करी गरेर पुनः प्रशोधन गरी बजारमा विभिन्न ब्रान्डको नाममा बिक्रीवितरण गर्ने गरेको पाइएको छ।’

महर्जनले ललितपुर खुमलटार, कालिमाटी लगायत काठमाडौं केन्द्रित केही पसलहरूबाट पनि यस्तो चामल बिक्री भएको जानकारी प्राप्त भएको बताए। ‘भारतमा खाद्य निगमले हरेक वर्ष दुई वर्ष पुराना चामल लिलामीमा राख्छ। तर नेपालमा सोही चामल आयात गरेर पोलिस गरी नयाँ ब्रान्डमा बिक्री गरिएको छ। यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउँछ। यही कारणले हामीले कारबाहीका लागि ध्यानाकर्षण गराएका हौं’ उनले भने।

उनले यस घटनाले नेपाली जनताको स्वास्थ्यमा खेलवाड गर्नुका साथै राज्यको राजस्व समेत ठगी भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आवश्यक सूत्र परिचालन गरी अनुगमन, छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको बताए।

नेपाल कृषि प्रधान देश भए तापनि चामलको आयात–निर्यातमा असन्तुलन देखिएको छ। वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने नेपालमा गत वर्ष करिब ३२ लाख मेट्रिक टन मात्रै उत्पादन भएको अनुमान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*