डेढ दर्जन बीमा कम्पनीले समयमै एजिएम गर्दै, नौ वटाको शेयर किन्दा अझै पाइन्छ लाभांश (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित १८ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा घोषणा गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार पुष १५ अर्थात मंगलबारसम्मको अवधिमा १० जीवन बीमा कम्पनी, सात निर्जीवन बीमा कम्पनी र एक लघु जीवन बीमा कम्पनीले वार्षिक सभाको मिति घोषणा गरेका हुन् ।
विवरण अनुसार लाभांश घोषणा गरेका पाँच वटा जीवन बीमा कम्पनी र चार वटा निर्जीवन बीमा कम्पनीहरुको शेयर खरिद गरी लगानीकर्ताहरुले उक्त लाभांश प्राप्त गर्न सक्नेछन् । निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुले बढी लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका बीमा कम्पनीहरुमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सोमबार सो वार्षिक सभा सम्पन्न गरिसकेको छ ।
बीमा ऐनमा आर्थिक वर्ष पूरा भएको ३ महिनाभित्र स्वीकृतिका लागि बीमा प्राधिकरणमा बीमकले वार्षिक वित्तीय प्रतिवेदन स्वीकृत गराउनुपर्ने प्रावधान छ । यसबाहेक कम्पनी ऐनअनुसार कम्तीमा २१ दिनअगावै अजेन्डासहितको साधारणसभाको मिति घोषणा गर्नुपर्ने प्रावधान छ । जसमा १८ कम्पनीहरुले समयमै वार्षिक सभा गर्न सक्ने भएका छन् । हालसम्म बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले वित्तीय विवरण स्वीकृत गरीसकेका छन् ।

स्रोतः बीमा कम्पनीहरुले प्रकाशित सूचना
प्रकाशित विवरण अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजिएम २९ र बुकक्लोज मिति पुष २१ गते रहेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पनि पुष २१ गते, नेशनल लाइफ इन्स्योरेन्सको पुष १७ गते, सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुष १८ गते र एलआइसी नेपालको पुष १७ गते बुकक्लोज मिति रहेको छ । जसका कारण भोलिसम्म पनि शेयर खरिद गर्ने कम्पनीहरुले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनीको शेयर खरिद गर्दा अझै पनि प्रस्तावित लाभांश प्राप्त गर्न सकिने भएको छ । जसअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पुष २० गते, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पुष २९ गते र एनएलजी इन्स्योरेन्सको पुष २२ गते बुकक्लोज मिति रहेको छ । भोलिदेखि शेयर खरिद गर्ने लगनीकर्ताहरुले सम्बन्धित कम्पनीहरुको लाभांश पाउन सक्नेछन् ।

स्रोतः बीमा कम्पनीहरुले प्रकाशित सूचना
लाभांशसहित वार्षिक सभा आह्वान गरेका बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स र एलआईसी नेपालले सबैभन्दा बढी लाभांश रहेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले २० प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सले २० प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १० प्रतिशतले लाभांश घोषणा गरेका छन् ।












