जेन जी आन्दोलनले दुई वर्ष बराबरको बजेटको क्षति, पुँजी भयानक रुपमा बिदेशि रहेको छ: पूर्व अर्थमन्त्री महत

काठमाडौं। पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महतले जेन जी आन्दोलनका कारण नेपालको अर्थतन्त्रमा गम्भीर क्षति पुगेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा बोल्दै उनले जेन जी आन्दोलनले नेपालको दुई वर्ष बराबरको बजेट जति क्षेत्र प्रभावित बनाएको उल्लेख गर्दै यसले निजी क्षेत्र र व्यवसायीको मनोबल कमजोर बनाएको स्पष्ट पारेका हुन् ।
महतका अनुसार पछिल्लो समय नेपालमा लगानी गर्नेहरूको संख्या निरन्तर घट्दो क्रममा छ। विशेषगरी स्वदेशी लगानीकर्ताको मनोबल खस्किँदै गएको भन्दै उनले अहिले नेपालको लगानी नै बाहिरिएको अवस्थामा पुगेको बताए। ‘अहिले नेपालको लगानी बाहिरी रहेको छ, जुन देशका लागि निकै दुःखद विषय हो’ उनले भने, ‘नेपालको पूँजी भयावह रूपमा विदेश पलायन भएको छ। विदेशी लगानी ल्याउने कुरा होइन, देशकै पूँजी विदेशी बनेर बाहिरिएको छ, अर्थतन्त्र नै ध्वस्त भएको अवस्था छ।’
उनले सामाजिक सञ्जालको भूमिकामाथि पनि प्रश्न उठाउँदै सामाजिक सञ्जालले सर्वसाधारणमा नकारात्मक भावना विकास गरिरहेको बताए। आन्दोलनले केही परिवर्तन नभएको भने होइन भन्दै उनले आन्दोलनको नाममा सरकारी तथा निजी क्षेत्रमाथि हुने आक्रमण अत्यन्तै गलत र निन्दनीय रहेको धारणा राखे। पूर्व अर्थमन्त्री महतले निजी क्षेत्रको मनोबल उच्च बनाउन राज्यले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले भने, ‘आन्दोलनको नाममा संरचनामा क्षति पुर्याउने, लुटपाट र आगजनी गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन नसके देशमा कुनै पनि व्यवसाय सुरक्षित हुन सक्दैन । व्यवसायीहरूको मनोबल खस्किन नदिन सरकारले व्यवसायिक भवनमा हुने लुटपाट र आगजनीका घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ’ देशमा देखिएको अस्थिरताका कारणतर्फ संकेत गर्दै महतले अब ढिलाइ नगरी समाधानतर्फ अघि बढ्नुपर्ने बताए।
आवश्यक परे संविधान संशोधन गरेर भए पनि देशलाई स्थायित्वको बाटोमा लैजानुपर्ने उल्लेख गर्दै उनले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य अपरिहार्य भएको धारणा व्यक्त गरे।












