निजि क्षेत्रको एउटै स्वर: ‘हामी फेरि उठ्छौँ तर सुरक्षाको ग्यारेन्टी चाहियो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले एउटै स्वरमा व्यवसायिक सुरक्षाको ग्यारेन्टी माग गरेका छन्।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले देशका युवाहरू एक प्रकारको असन्तुष्ट अवस्थामा रहेको उल्लेख गर्दै अहिले व्यवसायीलाई प्रोत्साहन गर्ने पहिलो र आधारभूत विषय नै सुरक्षा भएको बताए। अग्रवालले स्थायित्व र सुरक्षा बिना कुनै पनि व्यवसाय ढुक्कका साथ अघि बढ्न नसक्ने स्पष्ट पारे। उनले बीमाको दायरासमेत समेटेर व्यवसायिक सुरक्षाको सुनिश्चितता हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘जेन जी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रभावित व्यवसायीहरू पुनः व्यवसाय सुरु गर्नुपर्ने अवस्थामा छन। नीतिगत अस्थिरताका कारण अहिले निजी क्षेत्र चेपुवामा परेको छ।’ उनले निजी क्षेत्र माथि उठ्न नसके देशमा रोजगारी सिर्जना गर्न नसकिने चेतावनी दिए। अबको मुख्य आधार निर्वाचन र त्यसपछि आउने स्थायित्व भएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग परिषद्का अध्यक्ष विरेन्द्र पाण्डेले अब देश आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्ने समय आएको बताए। उनले भने, ‘नीतिगत स्पष्टता अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । व्यवसायी भवनहरू तोडफोड हुँदा पुन: निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने अवस्था छ । नेपालको निजी क्षेत्र धेरै अवरोधका बीच अघि बढिरहेको छ । हामी किन सधैँ आन्दोलनको तारो बन्नुपरेको छ ?’ पाण्डेले निजी क्षेत्रमाथि हुने आक्रमण कुनै पनि बहानामा स्वीकार्य नहुने स्पष्ट पारे।
उनले व्यवसायी सुरक्षित नभएसम्म व्यवसाय सञ्चालन सम्भव नहुने भन्दै निजी क्षेत्रलाई आन्दोलनकारीको निशाना बनाइनु नहुने बताए। ‘हामीलाई सुरक्षा चाहिन्छ, व्यवसायी सुरक्षित हुनुपर्छ, त्यसपछि मात्र हामी ढुक्कका साथ व्यवसाय गर्न सक्छौँ’ उनले भने ।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले स्वदेशी लगानी बिना विदेशी लगानी पनि आउन नसक्ने निष्कर्ष निकाले। पहिला देशभित्रै अनुकूल व्यवसायिक वातावरण तयार गर्नुपर्ने र त्यसपछि मात्र नेपालले आर्थिक रूपमा ठूलो फड्को मार्न सक्ने उनीहरूको धारणा थियो।












