डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएको छ। भारतले प्रतिलिटर डिजेलमा ५.०६ रुपैयाँ पेट्रोलमा ४.१९ रुपैयाँ र हवाई इन्धनमा ८.१५ रुपैयाँ घटाएसँगै नेपालमा पनि इन्धनको मूल्य घटेको हो।
यता एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १००.३५ रुपैयाँले बढेर आएको भए तापनि उपभोक्ता हितलाई ध्यान राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ।
यता डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ भने पेट्रोलको भाउ प्रतिलिटर ४ रुपैयाँले र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोमिटर ४२ रुपैयाँ अमेरिकी डलरले मूल्य घटाइएको छ।
निगमले जनाएअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य वर्गअनुसार क्रमशः १३४.५० रुपैयाँ, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, भलबारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छ भने दोस्रो वर्गमा दाङ र सुर्खेत तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।












