विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरी १ करोड ४० लाख भ्रष्टाचार

१७ पुष २०८२, बिहीबार ०९:१३

काठमाडौं । कास्की जिल्लास्थित एक सामुदायिक विद्यालयको सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको सामुदायिक अमर ज्योति आधारभूत विद्यालय परिसरभित्र पर्ने ३ रोपनी ३ आना क्षेत्रफल भएको सार्वजनिक जग्गा तत्कालीन भूमि आयोगका पदाधिकारीहरूको मिलेमतोमा गैरसुकुम्बासी व्यक्ति भिम बहादुर वि.क को नाममा दर्ता गराइएको पाइएको छ।

यसअघि नै वि.क की श्रीमती सुकमाया कामीको नाममा सोही वडाको जग्गा सुकुम्बासीको हैसियतमा वितरण भइसकेको खुलेको छ। यस्तो अवस्थामा भिम बहादुर वि.क पुनः सुकुम्बासी हुन नसक्ने भए पनि बदनियतसाथ झुट्टा विवरण प्रयोग गरी उनलाई सुकुम्बासी प्रमाणित गरी जग्गा दिइएको खुलेको हो।

वि.क सँग सम्बन्धित विवरण माग्दा सम्बन्धित मालपोत कार्यालयबाट माग्नु पर्नेमा त्यसो नगरी असम्बन्धित कार्यालयबाट विवरण झिकाई बदनियत पूर्वक गैरसुकुम्बासीलाई सुकुम्बासी देखाउने कार्य गरिएको आरोपपत्रमा उल्लेख छ।

यस प्रकरणमा १ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको अनुसन्धानले देखाएको छ। यसमा संलग्न भएको आरोपमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्य आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम बहादुर नेपाली र भिम बहादुर वि.क विरुद्ध मुद्दा चलाइएको हो।

Bf213y

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*